हाम्रा वन जंगल र हिमताल जोगाउने कानुन पारित गरौं : सभामुख घिमिरे
जलवायु र वायु प्रदुषणको समस्या कुनै एक देशले मात्र समाधान गर्न नसक्ने बताउँदै उनले सबैको साझा प्रयत्न आवश्यक रहेको बताए।
काठमाडौं, भदौ ३ : सभामुख देवराज घिमिरेले वन, जंगल र हिमताल जोगाउने कानुन पारित गर्न आह्वान गरेका छन्।
मंगलबार हिन्दुकोश हिमालय सांसदहरुको बैठकको समापनमा बोल्दै उनले स्थानीय समुदायलाई शसक्त बनाउने तथा प्रदुषणलाई जवाफदेही बनाउने कानुन पारित गर्नकासाथै नविकरणीय उर्जा, हरित रोजगारी तथा प्रकृतिमा आधारित समाधानका उपायहरुमा लगानी गर्न सरकारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
‘म आह्वान गर्न चाहान्छु । हाम्रा वन जंगल र हिमताल जोगाउने कानुन पारित गरौं । स्थानीय समुदायलाई शसक्त बनाउने तथा प्रदुषणलाई जवाफदेही बनाउने कानुन पारित गरौं,’ उनले भने, ‘नविकरणीय उर्जा हरित रोजगारी तथा प्रकृति आधारित समाधानका उपायहरुमा लगानी गर्न सरकारलाई प्रोत्साहित गरौं।’
सभामुख घिमिरेले जलवायु परिवर्तन र बढ्दो वायुप्रदुषणको साझा चुनौती सामना गर्न चाल्ने साझा कार्यक्रमका बारेमा खुलेर वहस गर्नुपर्ने धारणा राखे। जलवायु र वायु प्रदुषणको समस्या कुनै एक देशले मात्र समाधान गर्न नसक्ने बताउँदै उनले सबैको साझा प्रयत्न आवश्यक रहेको बताए।
‘जलवायु परिवर्तन र बढ्दो वायुप्रदुषणको साझा चुनौती सामना गर्न चाल्ने साझा कार्यक्रम बारेमा खुलेर वहस गर्नुपर्छ। यो समस्या राजनीतिक समस्यामा मात्र सिमित रहँदैन्। कुनै एक देशले मात्र यसको समाधान गर्न सक्दैन् त्यसैले हामी सबैको साझा प्रयत्न आवश्यक छ,’ उनले भने, ‘हामी सांसदहरु बैज्ञानिक नहौंला, तर जलवायु अनुकुलकालागि बजेट पारित गर्न सक्छौं। हामी इन्जिनियर नहौंला तर इको सिस्टम बनाउने तथा कार्वन उत्सर्जन नियमन गर्ने कानुनको डिजाईन गर्न सक्छौ र तीनको कार्यान्वयनको निगरानी गर्न सक्छौं। हामी अभियान्ता हैनौं तर हामी किसानको लागि आवाज उठाउन सक्छौं।’












