उपसभामुखलाई हटाउने गतल प्रयास भइरहेको छ, त्यसको विरोध गर्छौं : अध्यक्ष दाहाल
उनले उपसभामुख रानाले नराम्रो काम गरेको भन्ने केही पनि प्रमाण नभएको भन्दै त्यो खाली कपोकल्पीत मात्र भएको बताए।-(9)-1755591760.jpg)
काठमाडौं, भदौ ३ : नेकपा माओवादी केन्द्रले सरकारले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने प्रयास गरिराखेको भन्दै त्यसको विरोधमा उत्रिने निष्कर्ष निकालेको छ।
मंगलबार पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार बनेदेखि नै गल्ती बाहेक राम्रो काम केही नगरेको बताउँदै एउटा आदिवासी जनजाति र सामाजिक सेवा गरेको महिलालाई हटाउने प्रयास गलत भएकाले त्यसको विरुद्धमा उभिने बताए।
‘उहाँहरुको प्रयास त पहिलेदेखिकै हो, तर त्यो गलत गर्दै हुनुहुन्छ उहाँहरु । गल्ती त उहाँहरुले गरि नै राख्नुभएको छ। यो सरकार बनेदेखि नै गल्ती बाहेक राम्रो काम त गरेकै छैन,’ उनले भने, ‘एउटा महिला आदिवासी जनजाति, सामाजिक सेवा गरेको महिलालाई हटाउने जुन प्रयास छ त्यो गलत छ। हामी त्यसको विरोध गछौं।’
त्यस्तै उनले उपसभामुख रानाले नराम्रो काम गरेको भन्ने केही पनि प्रमाण नभएको भन्दै त्यो खाली कपोकल्पीत मात्र भएको बताए।
यस्तै, प्रवक्ता अग्नि सापकोटाले बैठकले सरकार अधिनायकवाद बन्दै गइरहेको र उपसभामुखलाई हटाउने प्रयास बदनियत भएको निष्कर्ष निकालेको जानकारी दिए।
‘सरकार अधिनायकवाद र तानाशाहीवादतिर जाँदै छ। उपसभामुखलाई हटाउने जमर्को भइरहेको पनि सुन्नमा आएको छ, यो बेठिक हुन्छ। सरकारको यो कदममा बदनियत देखिन्छ,’ उनले भने, ‘त्यसैले अब अध्यक्षले सत्तारुढ र विपक्षी दलसँग पनि कुराकानी गर्नुहुन्छ।’











