त्रिभुवन विमानस्थलमा ‘यात्रु सहायता कक्ष’ सञ्चालन
‘नेपाल भित्रिने यात्रुलाई पहिलो छाप विमानस्थलमै पर्छ । यदि उनीहरूले सहज र सकारात्मक अनुभव पाए भने, पुनः नेपाल आउने वातावरण बन्छ,’ उनले भने।
काठमाडौं, भदौ २ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ।
सोमबार जिल्ला होटल व्यवसायी संघको आयोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, संघीय संसद्का सांसद नगेन्द्र कुमाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र महाप्रबन्धक हंशराज पाण्डेले संयुक्त रूपमा सहायता कक्षको उद्घाटन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विदेशी तथा स्वदेशी यात्रुलाई सहज वातावरण दिने उद्देश्यले स्थापना गरिएको सहायता कक्षले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
‘नेपाल भित्रिने यात्रुलाई पहिलो छाप विमानस्थलमै पर्छ । यदि उनीहरूले सहज र सकारात्मक अनुभव पाए भने, पुनः नेपाल आउने वातावरण बन्छ,’ उनले भने।

मन्त्री पाण्डेले विमानस्थलका कर्मचारीलाई अन्तर्राष्ट्रिय भाषामा दक्ष बनाउनुपर्ने आवश्यकता औंल्याउँदै होटल, यातायातलगायत सेवा–सुविधा सम्बन्धी जानकारी प्रभावकारी रूपमा दिन सक्नुपर्नेमा जोड दिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक हंशराज पाण्डेले निजी क्षेत्रको सहकार्यमा आगमन क्षेत्रमा पिपिपी मोडेलमार्फत बनेको सहायता कक्ष उदाहरणीय रहेको उल्लेख गरे।
होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष शेरु थापाले यो पहल धेरै वर्षअघिदेखि गरिआएको भए पनि अब आएर मूर्त रूप लिन सकेकोमा सन्तोष व्यक्त गरे।
त्यस्तै, जिल्ला होटल व्यवसायी संघका अध्यक्ष सुरेश बरालले विमानस्थलको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय बजारमा पर्न जाने भएकाले पर्यटन छवि सुधार्ने उद्देश्यले संघले सहायता कक्ष निर्माण गरेको स्पष्ट पारे।
कार्यक्रममा मन्त्री पाण्डेले यात्रु सहायता कक्ष सञ्चालक समिति संयोजकलाई सम्पूर्ण अख्तियारीसहित कक्षको साँचो हस्तान्तरणसमेत गरे।












