जलवायु परिवर्तनको असर गम्भीर, रारा तालदेखि तराईसम्म असर : मन्त्री साही
उनले जलवायु परिवर्तनको प्रभावस्वरूप हालै रसुवा जिल्लामा आएको बाढी र पहिरोका कारण २० भन्दा बढीले ज्यान गुमाएको र अर्बौंको धनमाल नोक्सान भएको जानकारी दिए।
काठमाडौं, भदौ २ : वन तथा वातावरणमन्त्री ऐनबहादुर साहीले सोमबार हिन्दूकुश हिमालय संसदीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले गम्भीर असर बेहोर्नुपरेको बताएका छन्।
सम्मेलनको अवसरमा मन्तव्य दिंदै उनले जलवायु संकटले मुलुकभर नै विनाश ल्याइरहेको र अब यसको सामना गर्न सफल नीति निर्माण र कार्यान्वयन जरुरी भएको बताए।
मन्त्री साहीले नेपालको सबैभन्दा ठूलो ताल रारासमेत जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परेको उल्लेख गर्दै भने, ‘यो तथ्य मात्र होइन, आफैंले देखेको र भोगेको कटुसत्य हो।’
उनले जलवायु परिवर्तनको प्रभावस्वरूप हालै रसुवा जिल्लामा आएको बाढी र पहिरोका कारण २० भन्दा बढीले ज्यान गुमाएको र अर्बौंको धनमाल नोक्सान भएको जानकारी दिए।
मन्त्री साहीले तराई–मधेस क्षेत्रमा लामो समयसम्म वर्षा नहुनुका कारण खानेपानीको हाहाकार भएको र किसानहरुले खेतमा रोपाइँ गर्न नपाएको अवस्था पनि देखिएको उल्लेख गरे।
‘सम्मेलनले हाम्रा साझा भविष्यको लागि सफल नीतिहरुको निर्माण र कार्यान्वयनमा सहयोग पुग्नेछ । वन तथा वातावरण क्षेत्रमा देखिएका विभिन्न चुनौतिहरुलाई सफलताका साथ सम्पन्न गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने छ । सबैभन्दा ठूलो ताल रारा ताल जस्तो प्राकृतिक सम्पदा पनि अहिले जलवायु परिवर्तनको असरबाट पीडामा छ। यो तथ्य मात्रै होइन आफैंले देखेको र भोगेको कटुसत्य पनि हो,’ उनले भने, ‘यसवर्ष मात्रै नेपालले जलवायु परिवर्तनका दुखद अनुभवहरु बेर्होनुपर्यो। हालै रसुवामा ठूलो बाढी पहिरोबाट करिब करिब २० जना भन्दा बढीले ज्यान गुमाउनुपर्यो । अर्बौं धन सम्पत्तिहरु नोक्सानीमा परेको अवस्था छ। यसै वर्ष नेपालको तराई मधेस क्षेत्रमा लामो समय वर्ष नहुँदा खानेपानीको समस्यासँगै किसानहरुले खेत रोप्न पाएको अवस्था रहेन। समयमा किसानले खेत रोप्न नपाउँदा आउँदा दिनमा खाद्य सुरक्षामा समस्या आउने अवस्था सिर्जना भएको छ।’
नेपालले जलवायु संकटको बाबजुद वातावरण संरक्षणमा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै मन्त्री साहीले करिब ४६ प्रतिशत भूभाग वनले ढाकिएको तथ्य प्रस्तुत गरे
‘सामुदायिक वन व्यवस्थापनमा नेपाल विश्वकै उदाहरण बनेको छ,’ उनले भने, ‘न्यून कार्वन उत्सर्जन गर्ने मुलुक भएर पनि हामी गहिरो असरमा परेका छौं।’
उनले नेपालले जैविक विविधताको संरक्षणमा ठूलो लगानी गरेको र कार्वन उत्सर्जन न्यूनीकरण तथा अनुकूलनका क्षेत्रमा समेत सक्दो प्रयास गरिरहेको बताए।



-1771402549.png)





-1771402549.png)


