खुट्टा तान्ने होइन, हातेमालो गर्ने संस्कार विकास गर्नुपर्छ : अध्यक्ष लिङ्देन
‘सिक्ने र परीक्षण लिने भन्ने चिज जीवनमा कहिले पनि सकिँदैन । जबसम्म सिक्ने भोक आफूमा जीवित रहन्छ, तबसम्म परिवर्तन एवम विकासको सम्भावना पनि जिवित रहन्छ,’ उनले भने।-(31)-1755433235.jpg)
काठमाडौं, भदौ १ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महिलाको सशक्तिकरण र नेतृत्व विकासमा निरन्तर लगानी आवश्यक रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘नारी नेतृत्व समृद्धि प्रशिक्षण कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जीवनमा सिकाइ र परीक्षण निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गरे।
‘सिक्ने र परीक्षण लिने भन्ने चिज जीवनमा कहिले पनि सकिँदैन । जबसम्म सिक्ने भोक आफूमा जीवित रहन्छ, तबसम्म परिवर्तन एवम विकासको सम्भावना पनि जिवित रहन्छ,’ उनले भने।
अध्यक्ष लिङ्देनले जनसंख्याको ५१ प्रतिशतभन्दा बढी हिस्सा महिलाले ओगटेको भन्दै महिलाको सक्रिय सहभागिता विना कुनै पनि संगठन मजबुत हुन नसक्ने बताए।
‘५१ प्रतिशत भन्दा बढी महिलाहरुको जनसंख्या छ। त्यसमाथि पनि अहिले विदेश जानेहरुको संख्यालाई हिसाव गर्यौं भने दुई अढाई लाख महिलाहरुकै संख्या छ । महिलाहरू सशक्त, बलियो र अग्रसर नभई महिला संगठन सम्भव छैन,’ उनले भने।
देशबाट ठूलो संख्यामा युवा विदेशिने प्रवृत्तिको उल्लेख गर्दै उनले दुई अढाई लाख महिला विदेशमा रहेको तथ्याङ्कसमेत प्रस्तुत गरे।
‘हामी सबैको प्रतिस्पर्धा अरुसँग होइन, आफैंसँग हो। समाजमा खुट्टा तान्ने प्रवृत्तिबाट माथि उठेर हातेमालो गर्दै सकारात्मक उर्जासँगै अघि बढ्नुपर्छ,’ उनले भने।
कार्यक्रममा राप्रपा निकट महिला नेतृहरूको उपस्थिति रहेको थियो।












-1771402549.png)