Kathmandu Press

विद्यालयस्तरीय राष्ट्रिय नाटक उत्सवकाे तयारी पूरा

लालाबालाकाे सहकार्यमा आगामी भदाै २ गतेदेखि ६ गतेसम्म काठमाडौँको पिङ्गलास्थानस्थित ‘स्टुडियो थिएटर’ मा हुने महोत्सवमा देशभरका गरी १५ वटा विद्यालयका विद्यार्थी सहभागी हुने आयोजक अक्षरा स्कुलले जनाएकाे छ।
विद्यालयस्तरीय राष्ट्रिय नाटक उत्सवकाे तयारी पूरा

काठमाडौं,साउन ३० : अक्षरा स्कुलले ‘थिएटर इन एजुकेसन कार्यक्रम’अन्तर्गत नाट्य विधा अध्ययन गराउने विद्यालयहरूलाई लक्षित गर्दै आयोजना गर्न लागेकाे दोस्रो राष्ट्रिय विद्यालयस्तरीय पाँच दिने नाटक महोत्सवकाे तयारी पूरा भएकाे छ। 

लालाबालाकाे सहकार्यमा आगामी भदाै २ गतेदेखि ६ गतेसम्म काठमाडौँको पिङ्गलास्थानस्थित ‘स्टुडियो थिएटर’ मा हुने महोत्सवमा देशभरका गरी १५ वटा विद्यालयका विद्यार्थी सहभागी हुने आयोजक अक्षरा स्कुलले जनाएकाे छ।

पछिल्लो समय निजी विद्यालयले नाट्य विधालाई प्राथमिकता दिँदै आएका छन्। अक्षरा स्कुलले पनि आफ्नो स्थापना कालदेखि नै नाट्य विधालाई कक्षाकोठामा भित्र्याएर विद्यार्थीलाई अभिनयात्मक प्रस्तुति गराउँदै आएको छ। यसअघि अक्षरा स्कुलकै अभि थिएटरमा ‘अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’ आयोजना गरिएको थियो। जसमा विभिन्न बाह्र देशका नाटक मञ्चन भएका थिए।

Hardik ivf

आयोजक अक्षरा स्कुलकी संस्थापक निर्देशक अन्जु भट्टराईका अनुसार अक्षरा स्कुलले स्थापना कालदेखि नै सिपमूलक र संस्कारयुक्त शिक्षामा थिएटरलाई समावेश गर्दै आएको छ। अक्षरा स्कुलले नाट्यकला र शिक्षाको संयोजनमार्फत् विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता, संवादकला र समूहमा काम गर्ने क्षमता विकास गर्ने उद्देश्य राख्दै महोत्सव सञ्चालन गरिएको निर्देशक भट्टराईले बताइन्।

महोत्सवजस्ता साहित्यिक विधाका गतिविधिले विद्यार्थीलाई पुस्तक मात्र होइन, जीवनका वास्तविक परिस्थितिसँग पनि जोड्ने अवसर प्रदान गर्ने उनको भनाइ थियो। उनले नाटकलाई शिक्षाको अविभाज्य अङ्गका रूपमा विकास गर्न विद्यालयहरूबीच सहकार्य आवश्यक रहेकाले पनि याे महाेत्सवकाे आयाेजना गरेकाे उल्लेख गरिन्।

‘नाटकले नेपाली भाषामा संवाद गर्दा विद्यार्थीमा स्वर, लय र उच्चारणको अभ्यास हुने, कथनशैलीअनुसारको अभिनयात्मक प्रस्तुतिले भाव–भङ्गिमाका साथै शारीरिक चेष्टामा निखारता आउने भएकाले नाटक विद्यार्थीलाई अत्यन्तै उपयोगी विधा हो,’ उनले भनिन्,  ‘नेपाली संस्कृति, परम्परा, लोककथा र ऐतिहासिक प्रसङ्गलाई नाटकले जीवन्त रूपमा प्रस्तुत गर्ने भएकाले  विद्यार्थीले आफ्नो मौलिकताका साथै कला–संस्कृतिको अध्ययन गर्ने र गर्व गर्ने अवसर पाउँछन्। साथै  नाटक समूहगत क्रियाकलाप भएकाले विद्यार्थीमा सामाजिक कार्य, समन्वय र आपसी सम्मान गर्ने संस्कारको विकास गर्न सकिन्छ र जिम्मेवारी बाँडफाँट तथा नेतृत्व क्षमतासमेत बढ्छ।’

महोत्सवका निर्देशक टंक चौलागाईंले पन्ध्र अनुभवी रङ्गकर्मीका नाटक एउटै मञ्चमा हेर्न पाउनु उत्साहजनक रहेको बताए। सहभागी विद्यालय र विद्यार्थीहरूलाई यस्तो अवसरले उनीहरूको कलात्मक क्षमतामा अझ निखार ल्याउने उनले विश्वास व्यक्त गरे। 

कार्यक्रममा सहभागी विद्यालयहरूले सामाजिक मुद्दा, वातावरण संरक्षण, समानता, बालअधिकार, धर्मसंस्कृति संरक्षणलगायत विषयमा आधारित मौलिक तथा रूपान्तरित नाटक मञ्चन गर्नेछन्।

नाट्य उत्सवमा लामो समयदेखि विद्यालयहरुमा अभिनय प्रशिक्षण दिइरहेका क्रियाशील रङ्गकर्मीहरु सामेल हुने भएका छन्। जसमा रामबाबु रेग्मी, दीपा बस्नेत, प्रभाकर न्यौपाने, राम केएसी, मन्जु गिरी, पुष्पराज अवस्थी, प्रतीक दुलाल, सुरज तमु, सागर कान्छो, शिवराम अर्याल, निर्मल साउद, बंसरी पान्डे, प्रकाश दाहाल, टंक चौलागाईंजस्ता चर्चित रङ्गकर्मीहरू रहेका हुन्।

महोत्सवमा भ्याली भ्यु स्कुलले रामबाबु रेग्मीको लेखन तथा निर्देशनमा रहेको ‘इच्छा भर्सेस समय’ नाटक भदाै २ गते १० बजे,  लिटिल एन्जल्स स्कुलले दीपा बस्नेत निर्देशित ‘भिरमा फुलेका फूल’ नाटक भदाै ६ गते ११ः३० बजे, ग्ल्याडस्टोन एकेडेमीले दिपिन श्रेष्ठको लेखन र प्रभाकर न्यौपानेद्वारा निर्देशित ‘गीता’ नाटक भदाै २ गते ११ः३० बजे, पिक प्वाइन्ट एडुकेसन नेटवर्कले राम केसी निर्देशित ‘यशस्वी भवः’ नाटक भदाै ६ गते १ बजे, ग्लोबल पब्लिक स्कुलले मञ्जु गिरी निर्देशित ‘द टेल अफ इन्द्रजात्रा’ नाटक ५ गते १० बजे, निस्ट स्कुलले पुष्पराज अवस्थीद्वारा निर्देशित ‘पार्वती’ नाटक भदाै ५ गते १ बजे, कान्जिरोवा राष्ट्रिय माध्यमिक विद्यालयले प्रतीक दुलाल निर्देशित ‘दुःखी राजकुमारी’ नाटक भदाै ४ गते ११ बजे,  काठमाडाैँ प्रज्ञा कुञ्ज स्कुलले टंक चौलागाईंकाे ‘समीर नाचेकाे दिन’ नाटक भदाै ६ गते २ बजे र हिमालयन ह्वाइट हाउस स्कुलले ‘The Greek Mythology OlymPiaganza’ नाटक भदाै ५ गते २ः०० बजे प्रस्तुत गर्ने भएका छन्। 

त्यस्तै, टाइम्स इलिमेन्ट्रि स्कुलले प्रतीक दुलालको लेखन तथा सुरज तमू निर्देशित ‘दुःखी राजकुमारी’ भदाै ५ गते ११ः३० बजे, आकाशगंगा इन्टरनेसनल एकेडेमीले सागर कान्छाको ‘बैमानी काल’ नाटक भदाै २ गते १ बजे, रोजबड स्कुलले शिवराम अर्यालको ‘परदेशको स्कुल’ नाटक भदाै ४ गते १ बजे, क्रिएटिभ एकेडेमी स्कुलले निर्मल साउदको ‘सपनासँगको शून्यता’ नाटक भदाै ३ गते १ बजे, द जोय हाउस कलेक्टिव स्कुलले बंसरी पाण्डेको ‘द जोय माछाको रंगीन सपना’ नाटक भदाै ४ गते १० बजे, पवन प्रकृति स्कुलले प्रकाश दाहालको ‘पिता…??’ नाटक भदाै ६ गते १० बजे, काष्ठमण्डप विद्यालयले चन्दा खनालको ‘The internet is a Distract - Oh look , a kitten !’ नाटक भदाै ३ गते ११ः३० बजे र आयोजक स्कुल अक्षराले टंक चौलागाईंको ‘मोक्षको मार्ग’ नाटक भदाै ३ गते १० बजे प्रस्तुत गर्ने भएका छन्। 

यसअघि भएको नाटक महोत्सवको पहिलो संस्करण लालाबालाले आयोजना गरेको थियो। 
 

प्रकाशित मिति: १०:४८ बजे, शुक्रबार, साउन ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्