पूर्वएसपी बिष्टसहित आठ प्रहरीविरुद्ध मुद्दा
महेन्द्रनगर, फागुन २३ : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार हत्याकाण्डमा पूर्वएसपी डिल्लीराज बिष्टसहित आठजना प्रहरीविरुद्ध जिल्ला अदा....
महेन्द्रनगर, फागुन २३ : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार हत्याकाण्डमा पूर्वएसपी डिल्लीराज बिष्टसहित आठजना प्रहरीविरुद्ध जिल्ला अदालतमा मुद्दा चलेको छ । आजदेखि जिल्ला अदालतले अभियुक्तहरुकाे बयान लिने भएकाे छ । तर, प्रहरीले तत्कालीन एसपी बिष्ट र डिएसपी अंगुर जिसीलाई अदालतमा उपस्थित गराएकाे छैन ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मला साउन १० गते कापि लिन साथीको घर गएपछि वेपत्ता भएकी थिइन् । उनको साउन ११ गते घरनजिकैको उखुबारीमा शव भेटिएको थियो । शव परीक्षणमा बलात्कारपछि हत्या गरिएको खुलेको थियो । सो घटनामा अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन् ।
उनकी आमा दुर्गाले प्रमाण नष्ट गरेको भन्दै कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका तत्कालीन एसपी डिल्लीराज बिष्टसहित आठजना प्रहरीविरुद्ध उजुरी दिएकी थिइन् । उनको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत पुस ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
प्रमाण नष्ट गरेको आरोपमा तत्कालीन एसपी विष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेटी तथा प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीश प्रशाद भट्ट, सई हरिसिंह धामी, असई रामबहादुर धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।
त्यस्तै, निर्मला हत्या काण्डको अनुसन्धानका क्रममा पक्राउ परेका भीमदत्त नगरपालिकाकै दीलिपसिंह बिष्टका दाइ खड्क बिष्टले यातना दिएको भन्दै उजुरी दिएका थिए । त्यसका आधारमा पनि सरकारी वकिलको कार्यालयले तत्कालनी एसपी डिल्लीराज बिष्ट, डिएसपीद्वय अंकुर जिसी र ज्ञानबहादुर सेठी तथा इन्स्पेक्टर एकेन्द्र खड्काविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
दुवै मुद्दामा अदालतले अभियुक्तहरूलाई उपस्थित गराउँन आदेश दिएको थियो । अदालतको आदेशअनुसार, ६ जना अभियुक्तलाई बुधबार जिल्ला अदालतमा पेश गरिएको थियो । जिल्ला अदालतका अनुसार, बुधबार डिएसपी ज्ञानबहादुर सेटी तथा प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का र जगदीशप्रशाद भट्ट, सई हरिसिंह धामी, असई रामबहादुर धामी र प्रहरी जवान चाँदनी साउद अदालतमा उपस्थित भएका हुन् ।
तत्कालीन एसपी डिल्लीराज बिष्ट र सीआईबीका डिएसपी अंकुर जिसी अदालतमा उपस्थित भएनन् । बिष्ट र जिसी सम्पर्कमा नआएको हाजिर गराउँन नसकेको कञ्चनपुर प्रहरीले अदालतलाई जवाफ दिएको छ । सरकारी वकिल कार्यालयका सहायक न्यायाधीवक्ता मोहनीप्रशाद जोशीका अनुसार, आठै जनालाई उपस्थित गर्न पत्राचार गरिएको थियो । तर, जिल्ला प्रहरी कार्यालयले बिष्ट र जिसी सम्पर्कमा नआएकाले उपस्थित गराउँन नसकिएको जवाफ फर्काएको छ ।
अदालतमा उपस्थित भएका ६ जना अभियुक्तको आजदेखि बयान लिन शुरु गरिने जनाएको छ । उनीहरूको बयान सकिएपछि पुर्पक्षका लागि जेल पठाउने वा धरौटी वा तारेखमा छोड्ने आदेश दिने छ ।
निर्मलाको हत्या प्रमाण लापरवाही गरेको ठहर गर्दै सरकारले तत्कालीन एसपी बिष्ट र इन्स्पेक्टर भट्टलाई सेवाबाट हटाएको थियो । गहृमन्त्रालय र प्रहरी प्रधान कार्यालयले गठन गरेका छुट्टाछुट्टै छानविन समितिले पनि उनीहरूलाई दोषी ठहर गरेको थियो ।
निर्मला हत्या काण्डमा अझै पनि हत्यारा पत्ता लाग्न सकेको छैन् ।






