Kathmandu Press

ईभी आयात बढेसँगै पेट्रोलियम पदार्थको आयात घट्दै

सरकारले विद्युतीय सवारी (ईभी) प्रवद्र्धन गर्ने नीति लिएसँगै देशमा ईभी आयात ह्वात्तै बढेको छ भने पेट्रोलियम पदार्थ घट्दै गएको छ।
ईभी आयात बढेसँगै पेट्रोलियम पदार्थको आयात घट्दै

काठमाडौं, साउन २७ : स्वदेशमै उत्पादित स्वच्छ ऊर्जा खपत गर्न र वातावरणीय प्रदूषण घटाउन सरकारले विद्युतीय सवारी (ईभी) प्रवद्र्धन गर्ने नीति लिएसँगै देशमा ईभी आयात ह्वात्तै बढेको छ भने पेट्रोलियम पदार्थ घट्दै गएको छ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालमा ११ अर्ब ८४ करोड रुपैयाँका ४ हजार ५० वटा ईभी भित्रिएका थिए। त्यसको तीन वर्षपछि आव २०८१/८२ मा भने ३१ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ बराबरका १३ हजार ५६९ वटा ईभी आयात भएका छन् । यस्तै, आव २०८०/८१ मा ११ हजार ७ सय ईभी आयात भएका छन्।

Hardik ivf

यस अवधिमा पेट्रोलियम पदार्थको आयात भने निरन्तर घट्दो क्रममा रहेको पाइएको छ । विभागका अनुसार आव २०७९/८० मा नेपालमा ३ खर्ब ९ अर्ब ७० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो। तर, आव २०८१/८२ मा भने पेट्रोलियम पदार्थको आयात घटेर २ खर्ब ८७ अर्ब ६५ करोड रुपैयाँमा झरेको छ । आव २०८०/८१ मा भने ३ खर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको विभागको तथ्यांकमा छ।

सरकारले लिएको नीतिका कारण उपभोक्ता समेत ईभीमा आकर्षित हुँदै गएकाले ईभी आयात बढेको र पेट्रोलियम पदार्थको आयात घटेको सरोकारवालाहरुले बताउँदै आएका छन्। 

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएकाले पेट्रोलियम पदार्थको खपत घट्दा आयातमा पनि कमी भएको बताए। उनका अनुसार आम मानिसहरुमा डिजेल र पेट्रोलियम पदार्थबाट चल्ने गाडिहरुमा बिस्तारै आकर्षण घट्दै गएको देखिन्छ। साथै विभिन्न उद्योगधन्दा एवम् कलकारखानाहरुमा समेत विद्युतको बढ्दो प्रयोगले पेट्रोलियम इन्धनको खपत घटाएको छ।

नेपालमा चीन, भारत, कोरिया, जर्मनी, मलेसीया, इन्डोनेसीया, अमेरीका लगायत मुलुकबाट इभी गाडि भित्रीने गरेका छन् । गत आवमा सबैभन्दा धेरै ईभी चिनबाट आयात भएका छन्। 

कुल ईभी आयातको ७५ प्रतिशत चिनबाट आयात भएको तथ्यांकले देखाउँछ। चिनबाट २४ अर्ब ७३ करोड ९० लाख रुपैयाँ बराबरको १० हजार २१६ यूनिट आयात भएको छ।

कुल आयातको २४ प्रतिशत ईभी भारतबाट आयात भएका छन्। भारतबाट गत आवमा ६ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ बराबरको ३ हजार २४६ वटा ईभी आयात भएका छन्।
 

प्रकाशित मिति: १३:१२ बजे, मंगलबार, साउन २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्