Kathmandu Press

राहत शिक्षकलाई स्थायी प्रक्रियामा लैजाने सहमति

काठमाडौं, फागुन २३ : आन्दोलनरत राहत शिक्षकलाई एक पटकका लागि स्थायी प्रक्रियामा लैजान सहमति भएको छ । सरकारसँग सहमति भएपछि राहत शिक्षकले आन्दाेलनका कार्....

राहत शिक्षकलाई स्थायी प्रक्रियामा लैजाने सहमति

काठमाडौं, फागुन २३ : आन्दोलनरत राहत शिक्षकलाई एक पटकका लागि स्थायी प्रक्रियामा लैजान सहमति भएको छ । सरकारसँग सहमति भएपछि राहत शिक्षकले आन्दाेलनका कार्यक्रम फिर्ता लिएका छन ।

शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकबीच तीन बुँदे सहमति भएको छ । सहमतिमा राहत शिक्षक र बाल विकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई एक पटकका लागि स्थायी प्रक्रियामा लैजाने सहमित भएको छ ।

सहमतिमा भनिएको छ, ‘सामुदायिक विद्यालयमा कार्यरत राहत अनुदान कोटामा नियुक्त शिक्षक र बाल विकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई निश्चित मापदण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी तोके बोमजिम आन्तरिक÷खुल्ला प्रतियोगितात्मक परीक्षामा एक पटकका लागि उमेरको हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजानका लागि आवश्यक प्रबन्धन गर्ने ।’

शिक्षा मन्त्रालयसँग भएको सहमति अनुसार, आन्दोलनका क्रममा घाइते भएका शिक्षकको उपचारको व्यवस्था पनि सरकाले गर्ने छ । आन्दोलनका क्रममा भएको घटनाप्रति दुःख प्रकट गरेको छ ।

त्यस्तै, आन्दोलनरत शिक्षकहरूले आजैदेखि आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । सहमतिको तेस्रो बुँदामा भनिएको छ, ‘विगत केही दिनदेखि सामुदायिक विद्यालयहरूमा पठनपाठन अवरुद्ध हुने गरी काठमाडौं उपत्यकाकेन्द्रीत राहत शिक्षक र बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरूले गर्दै आएको आन्दोलनका सम्पूर्ण कार्यक्रम बन्द गर्ने, फिर्ता लिने ।’

राहतमा कार्यरत शिक्षकलाई स्थायी गर्नु पर्ने माग गरी उनीहरू आन्दोलनमा थिए । देशभरबाट आएका रातह शिक्षकले काठमाडौंमा प्रदर्शन गर्दै आएका थिए । सहमतिपछि आजैदेखि उनीहरू आ–आफ्नो कार्यक्षेत्रमा फर्किने छन् ।

प्रकाशित मिति: १०:४० बजे, बिहीबार, फागुन २३, २०७५