Kathmandu Press

आज गाईजात्रा मनाइँदै, मौलिकता गुम्ने चिन्ता

धार्मिक विधि मात्र नभई सामाजिक विडम्बना, विसङ्गति र अन्यायलाई हास्य व्यङ्ग्यमार्फत उजागर गर्ने जनमुखी सांस्कृतिक आन्दोलन गाईजात्राका केही मौलिकपनाहरु हराउँदै गएका छन्।
आज गाईजात्रा मनाइँदै, मौलिकता गुम्ने चिन्ता

काठमाडौं, साउन २५  : आज गाईजात्रा। काठमाडौैं उपत्यका लगायत विभिन्न स्थानमा मनाइँदै छ। 

गाईजात्रा नेपालको समृद्ध संस्कृति र परम्पराको एउटा अनुपम उदाहरण हो। जसले दुःख, पीडा र शोकलाई सामूहिक अनुभूति र सामाजिक चेतनाको पर्वमा रूपान्तरण गर्न सफल भएको छ।

नेपाली समाजमा मृत्युजस्तो गहिरो विषयलाई पनि कलात्मक, भावनात्मक र सामाजिक सन्देशयुक्त ढङ्गले प्रस्तुत गरिने गाईजात्रा हिन्दू संस्कार अनुसार गाईलाई माता र पृथ्वीको प्रतीक मानिन्छ।

Hardik ivf

मृत आत्माको शान्तिको कामना गर्दै गाईमार्फत श्रद्धाञ्जली अर्पण गरिने गाईजात्रा पछिल्लो समय बदलिंदै गएको छ। धार्मिक विधि मात्र नभई सामाजिक विडम्बना, विसङ्गति र अन्यायलाई हास्य व्यङ्ग्यमार्फत उजागर गर्ने जनमुखी सांस्कृतिक आन्दोलन गाईजात्राका केही मौलिकपनाहरु हराउँदै गएका छन्।

अध्येता सुशील राजोपाध्याय गाईजात्रा मात्र नभई हरेक संस्कार र संस्कृति बदलिंदै गएको स्वीकार्छन्। ‘कुनैपनि संस्कार र संस्कृतिहरु समय अनुसार बदलिदै जाने रहेछ। पहिला जस्तो गरेको थियो त्यस्तै नै गर्नुपर्छ भन्ने पनि नहुँदो रहेछ। पहिलाको भन्दा फरक भएकै छ,’ उनले भने,‘गाईजात्रालाई पहिले ‘गौ यात्रा’ भनिन्थ्यो, अहिले गाईजात्रा भनिएको हो । पहिले गाईलाई नै घुमाउने चलन थियो, त्यसपछि गाईको प्रतिक बनाएर लाने चलन आयो।’

जात्रामा खाने कुराहरु रोटी बनाएर बाँड्ने पनि चलन छ । मृत्यु भएको मानिसको प्रतिकको रुपमा गाईजात्रा मनाउने भएको हुनाले शोकलाई थोरै मनोरञ्जनतर्फ लानको लागि जात्रामा विभिन्न प्रकारको हास्य व्यङ्ग्य गर्ने, अनेक प्रकारको कपडा लगाउने, केटा मान्छे केटी बन्ने जस्ता कार्य गर्ने पनि चलन रहेको उनले सुनाए।

संस्कृति समयसँगै परिमार्जन हुँदै जानु स्वाभाविक भएको भन्दै उनले यो जात्राले मृत्युलाई केवल व्यक्तिगत शोक होइन, सामूहिक पीडाको रूपमा प्रस्तुत गरेको बताए। तर आधुनिकताले मौलिकतालाई ओझेलमा पार्न थालेको चिन्ता उनको थियो। 

gaijatra-1754798757.jpg
 

यो परम्परा पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण हुँदै आजसम्म आएकाले जात्रा जीवित छ । गाईजात्रा अझै पनि वर्तमान राजनीतिक, सामाजिक र सांस्कृतिक अवस्थाप्रति टिप्पणी गर्ने, विसङ्गति र विकृति उजागर गर्ने अवसरको रूपमा मनाइन्छ। 

काठमाडौं महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष राजेश कुमार श्रेष्ठका अनुसार गाईजात्रा शुद्ध रूपले मृत्युपछि देखिने सहानुभूतिमा आधारित रहेपनि हाल केही विकृति देखिन थालेको बताए।

‘पहिला भावनात्मक हिसाबले जात्रा गरिन्थ्यो, अहिले माग्ने र मनोरञ्जन मात्रै गर्ने प्रवृत्ति देखिएको छ,’ श्रेष्ठ भने। जात्रामा हास्य र व्यङ्ग्यको नाममा अश्लीलता, अनुशासनहीनता र मौलिकता गुमाउने क्रियाकलाप पनि हुन थालेकोमा उनले चिन्ता व्यक्त गरे। 

शिक्षिका सुजता श्रेष्ठ पनि परम्पराको परिवर्तनप्रति चिन्तित छिन्। उनको अनुभव अनुसार, पहिले गाईजात्रा घरमै चोखोगरी पकाएर, नुवाईधुवाई गरेर मनाइन्थ्यो। तर अहिले समय अभावका कारण अर्डर गरेर खानेकुरा बाँड्ने, बाहिरबाट सबै सामान ल्याउने प्रवृत्ति बढेको छ। 

‘जसको घरमा मृत्यु भएको छ, उसले संस्कार अनुसार मनाउनु स्वाभाविक भएको तर अन्य मानिसहरुले पैसा कमाउने वा रमाइलोका लागि मात्र जात्रामा सहभागी हुनुले विकृति आएको देखिन्छ,’ श्रेष्ठको भनाइ छ। 

‘गाईजात्र संस्कृति केवल नेवार समुदायको मात्रै होइन, सबै जात–धर्मको साझा सम्पदा हो । आजको पुस्तामा धर्म र संस्कृतिप्रति आस्था त छ, तर त्यसलाई कसरी जोगाउने भन्ने ज्ञान छैन । त्यसैले नयाँ पुस्तालाई संस्कृतिको महत्व सिकाउने जिम्मा अभिभावक, शिक्षक र समुदायकै हो। उनले सही रूपमा सिकाउन सकेमा संस्कृति संरक्षण सम्भव भएको छ,’ उनले भनिन्। 

काठमाडौं बसन्तपुका ८८ वर्षीय स्थानीय शान्तलाल श्रेष्ठले गाईजात्राको पुरानो स्वरूपको सम्झना गरे। ‘पहिले गाईसहित जात्रा निकालिन्थ्यो, मुकुट लगाइन्थ्यो, र जसको घरबाट जात्रा निस्किन्थ्यो, उनीहरूले रोटी बनाएर बाँड्ने चलन थियो। अहिले धेरै भीड हुन्छ, रमाइलो त हुन्छ, तर मौलिकता हराउँदै गएको छ,’ उनले स्मरण गर्दै भने ,‘५०–६० वर्ष अगाडि हनुमानढोकाबाट सात सय रुपैयाँ पुरस्कार पनि पायौँ। त्यो पैसाले टोलभरिका केटाकेटीलाई भोज खुवायौं । अब त सरकार नै गाईजात्रा बनेको छ।’

वास्तवमा, गाईजात्रा एक यस्तो पर्व हो जसले पीडालाई विसर्जन गर्ने अवसर दिन्छ । शोकलाई सामूहिक सम्झनामा रूपान्तरण गर्दै, हास्यव्यङ्ग्यमार्फत चेतनाको उज्यालो फैलाउने प्रयास हो गाईजात्रा ।
तर यस पर्वको मूल मर्म भनेको दुःखलाई केवल विस्मरण गर्नु मात्र होइन, बरु सम्झनाको सम्मान र सन्देशद्वारा व्यक्त गर्नु, मौलिकता र उद्देश्यलाई बचाएर राख्नु भएपनि मौलिकता हराउँदै गएको चिन्ता सुरु भएको छ। गाईजात्रालाई ‘मजाकको मेला’ बनाइने हो कि भन्ने चिन्ता सुरु भएको छ। 

 

प्रकाशित मिति: ०९:५१ बजे, आइतबार, साउन २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्