मोरङका दुई स्थानमा दुई पुरुषको शव भेटियो
उर्लाबारी र बेलबारी नगरपालिकामा सोमबार साँझ र मंगलबार बिहान फेला परेका शवको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन। दुवै घटनाको प्रहरी अनुसन्धान विभिन्न कोणबाट अगाडि बढाइएको छ।
मोरङ, साउन २० : मोरङका दुई फरक स्थानमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन्।
उर्लाबारी र बेलबारी नगरपालिकामा सोमबार साँझ र मंगलबार बिहान फेला परेका शवको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन। दुवै घटनाको प्रहरी अनुसन्धान विभिन्न कोणबाट अगाडि बढाइएको छ।
उर्लाबारी नगरपालिका–२ निवासी २३ वर्षीय सुशील लिम्बू मंगलबार बिहान आफ्नै घर नजिकको धानखेतमा मृत भेटिएका हुन्।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार, उनको शव खेतमा घोप्टो परेको, नाकबाट रगत बगेको र हातखुट्टा कक्रिएको अवस्थामा फेला परेको हो।
घटनास्थलमै पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरेपछि शवलाई मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पोस्टमार्टमका लागि पठाइएको छ।
प्रहरी स्रोतका अनुसार, लिम्बू सामान्यतः मादक पदार्थको धेरै सेवन गर्ने व्यक्ति भएको प्रारम्भिक जानकारी आएको छ । तथापि, वास्तविक मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।
त्यसैगरी, बेलबारी नगरपालिका–७ गिरी टोलका ४१ वर्षीय डमरु ऋषिदेव सोमबार साँझ खेतमा मृत फेला परेका छन्। उनी साँझ करिब ६ः३० बजे युरिया मल छर्न घरबाट निस्किएका थिए। तर केही समयपछि स्थानीयले खेतमै घोप्टो परेको अवस्थामा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार, उनको शवमा देखिने गरी कुनै घाउचोट नदेखिएको बताइएको छ । शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।
प्रारम्भिक विवरणअनुसार ऋषिदेव शारीरिक रूपमा अघिल्लो समयसम्म स्वस्थ रहेको र घटनाको वास्तविकता बुझ्न थप अनुसन्धान आवश्यक रहेको बताइएको छ।
मोरङ प्रहरी प्रमुख डिएसपी कोपिला चुँडालका अनुसार दुवै घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान भइरहेको छ।
‘उर्लाबारीको घटनामा मादक पदार्थको अत्यधिक सेवनको आशंका प्रारम्भिक रूपमा आएको छ । तर हामी कुनै पनि निष्कर्षमा पुग्न हतार गर्ने छैनौं। बेलबारीको घटनाबारे पनि हामी विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं,’ उनले भनिन्।
पोस्टमार्टम रिपोर्ट आएपछि मात्र दुवै व्यक्तिको मृत्युको यथार्थ कारण थाहा हुने डिएसपी चुँडालले बताइन्।
घटनाको प्रकृति हेर्दा हत्या, आत्महत्या, दुर्घटना वा स्वास्थ्य जटिलता जस्ता सबै सम्भावनालाई ध्यानमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ।



-1765194974.jpg)





-1765194974.jpg)


