‘वर्तमान अवस्थामा सत्य र तथ्य पत्रकारिता मर्दै गएको छ’
उनले अहिलेको अनलाइन डिजिटल मिडिया कपी–पेस्टबाट चलिरहेको भन्दै यसलाई प्रेस काउन्सिलले ध्यान दिनुपर्ने बताइन्।
काठमाडौं, साउन १० : नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले वर्तमान अवस्थामा सत्य र तथ्य पत्रकारिता मर्दै गएको बताएकी छन्।
प्रेस काउन्सि नेपालले आयोजना गरेको छलफलमा उनले सत्य र तथ्य पत्रकारिता मर्दै गएको कारणले नै प्रेस स्वतन्त्रता हनन्को घटना पनि बढेको बताइन्।
‘हरेक दिन प्रेस स्वतन्त्रता हनन्को घटना बढेका छन्। तर त्यसको कारण के हो भनेर हामीले खोज्ने हो भने सत्य र तथ्य पत्रकारिता मर्दै गएको कारणले प्रेस स्वतन्त्रता हनन्को घटना बढेको मैले महसुस गरेको छु,’ उनले भनिन्, ‘आचारसंहिता उल्लंघन गर्दा प्रेस स्वतन्त्रता हनन्का घटना बढेका छन्। हामीले सत्य र तथ्यको एक प्रतिशत पनि नभएको विषयवस्तु र पत्रकारिता पनि हेर्न परेको छ।’
यस्तै, उनले अहिलेको अनलाइन डिजिटल मिडिया कपी–पेस्टबाट चलिरहेको भन्दै यसलाई प्रेस काउन्सिलले ध्यान दिनुपर्ने बताइन्।
‘कानून हाम्रो पूरानो नै छ। हामीले जारी गरेको पत्रकार आचारसंहिता पनि पुरानै छ। अहिलेको यो अनलाइन डिजिटल मिडिया त कपिपेस्टबाट चलिरहेको छ,’ उनले भनिन्, ‘एउटा अनलाइनमा गल्ती आयो भने सबैले त्यही सार्ने हो। कपिपेस्टले कति असर पारेको होला त। त्यसकारण काउन्सिलले पत्रकारलाई सत्य तथ्यमा समाचार लेख्ने कुरामा ध्यान दिनुपर्छ।’












