काठमाडौं महानगरभित्र सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध, भदाैदेखि जरिवाना
उनले सार्वजनिक स्थलहरुमा धुम्रपान गरिएको पाइएमा पहिलो पटक ५ सय जरिवाना र दोहोराएको खण्डमा उक्त जरिवाना दोब्बर हुने निर्णय पनि भएको पनि जानकारी दिएका छन्।
काठमाडौं, साउन ९ : काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाभित्र निजी सम्पत्ति बाहेक सार्वजनिक स्थलहरु धुम्रपान निषेध गरेको छ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरपालिकाको गएको असार ३२ गते सम्पन्न भएको नगर सभाबाट महानगरभित्रका सार्वजनिक स्थलहरु धुम्रपान निषेध गर्ने निर्णय गरेको भन्दै यसलाई लागू गर्न श्रावण ९ गतेदेखि महिनाभर प्रचारप्रसार गर्ने र भदौ १ गतेबाट जरिवानामा जाने जानकारी दिए।
उनले सार्वजनिक स्थलहरुमा धुम्रपान गरिएको पाइएमा पहिलो पटक ५ सय जरिवाना र दोहोराएको खण्डमा उक्त जरिवाना दोब्बर हुने निर्णय पनि भएको पनि जानकारी दिएका छन्।
‘काठमाडौं महानगरपालिकाको गएको असार ३२ गते सम्पन्न भएको नगर सभाबाट केही महत्वपूर्ण ऐनहरु पास भएका छन् । जसअन्तरगत प्रशासनिक दण्ड जरिवाना र जफत शिर्षकमा केही जरिवानाहरु पास भएका छन् । विशेषगरि महानगरपालिकाभित्र कुनै पनि सार्वजनिक स्थलहरु सडकदेखि लिएर निजी सम्पत्ति बाहेकका क्षेत्रमा धुम्रपान निषेध गरिएको छ,’ उनले भने, ‘ती स्थानहरुमा धुम्रपान गरिएको पाइएमा पहिलो पटक ५ सय जरिवाना र दोहोराएको खण्डमा उक्त जरिवाना दोब्बर हुन्छ।’
उनले आजदेखि यो महिनाभर प्रचारप्रसारको काममा लाग्ने बताउँदै भदौ १ गतेबाट जरिवानामा गरिने बताए।
उनले तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ गरेमा सबै किसिमका तीन पांग्रे सवारी साधन मोटरसाईकल, स्कूटरलाई १ हजार, सबै किसिमका चारपांग्रे सवारी साधन (कार, जीप, डेलिभरी भ्यान) लाई २ हजार ५ सय, सबै किसिमका मझौला सवारी साधन (मिनीबस, मिनीट्रक आदि) लाई ३ हजार ५ सय, सबै किसिमका ठूला सवारी साधन (बस, ट्रक, लहरी आदि) लाई ५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय पनि भएको बताए।
उनको अनुसार,पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर सार्बजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथा प्रचार समाग्री बितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ भने गल्ती दोहोरिएमा प्रतिपटक दोब्बर हुने निर्णय पनि भएको छ।












