इतिहास रच्ने दाउमा एनआरएनए क्यानडाको अध्यक्षमा अधिकारीको उम्मेदवारी
हाल महासचिव रहेकी अधिकारीले गुटभन्दा माथि उठेर साझा मन्च बनाउन प्रयासरत रहने घोषणासहित चन्द्राले अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् । मतदानमार्फत चुनिएर पहिलो महासचिव बनेकी चन्द्राले पहिलो महिला अध्यक्ष बनेर इतिहास रच्ने दाउमा छिन् ।
काठमाडौं, साउन ९ : एनआरएनए एनसीसी क्यानडाको अध्यक्ष पदमा चन्द्रा अधिकारीले उम्मेदवारी दिएकी छिन् ।
हाल महासचिव रहेकी अधिकारीले गुटभन्दा माथि उठेर साझा मन्च बनाउन प्रयासरत रहने घोषणासहित चन्द्राले अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन्। मतदानमार्फत चुनिएर पहिलो महासचिव बनेकी चन्द्राले पहिलो महिला अध्यक्ष बनेर इतिहास रच्ने दाउमा छिन् । एनआरएनए क्यानडाको अध्यक्षमा महिलाले उम्मेदवारी दिएको पनि पहिलो पटक हो ।
नीति र कार्यान्वयनको अन्तर बुझेर कार्यसम्पादनको तहमा निस्वार्थ भावनाले लाग्नका लागि अध्यक्षमा उम्मेदवारी दिएको उनको भनाइ छ । नेपाली डायोस्पोरालाई सबल, सक्षम अनि उर्जाशील बनाउने उनले प्रतिबद्धता जनाएकी छन् ।
आफूले जितेमा नेपाली समुदायका सुखदुखको सारथी भएर अगाडि बढ्ने उनको प्रण छ । भैपरी आउने समस्यालाई समाधान गर्न खडा गरिएको आकस्मिक कोषलाई वृद्धि गर्दै नेपाली डायोस्परामा विस्तार गर्ने उनको भनाइ छ । नेपाली भाषा संस्कृति आफ्नो मुख्य एजेन्डा रहेको उनले बताएकी छन् ।
आफू सक्षम, सबल युवा भएकाले पनि चुनावी मैदानमा उत्रिएको उनको दाबी छ । स्याङजाको चापाकोट स्थायी घर भएकी चन्द्रा १० वर्षदेखि क्यानडामा छिन् ।
एनआरएनए क्यानडाको निर्वाचन जुलाई २७ मा मतदान हुनेछ । नेपालमा रहँदा पद्मकन्या क्याम्पसमा लामो समय नेविसंघको राजनीतिमा आवद्ध रहेकी अधिकारी हाल नेपाली कांग्रेसमा समेत सक्रिय रहँदै आएकी छन् ।












