एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा सन्तोष कुँवरकाे प्यानल घाेषणा
अहिलेको कार्यकालमा महासचिव रहेका कुँवरको प्यानलमा उपाध्यक्षमा बबिन मिश्र, महासचिवमा चूडामणि सापकोटा, सचिवमा कल्याण खड्काले उम्मेदवारी घोषणा गरेका छन्। यस्तै राष्ट्रिय युवा संयोजकमा रिज्नु अधिकारी, कोषाध्यक्षमा निजन चौलागाईं छन्।
काठमाडाैं, साउन ७ : गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आसन्न निर्वाचनमा सन्तोष कुँवरले प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन्।
अहिलेको कार्यकालमा महासचिव रहेका कुँवरको प्यानलमा उपाध्यक्षमा बबिन मिश्र, महासचिवमा चूडामणि सापकोटा, सचिवमा कल्याण खड्काले उम्मेदवारी घोषणा गरेका छन्। यस्तै राष्ट्रिय युवा संयोजकमा रिज्नु अधिकारी, कोषाध्यक्षमा निजन चौलागाईं छन्।
अनुभवी र नेतृत्वदायी भूमिकामा अब्बल रहेका व्यक्तिहरूलाई आफ्नो प्यानलमा समेटेर कुँवर अगाडि बढेका हुन्। झन्डै एक दशकदेखि एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कुँवर संस्थालाई लगानीमैत्री, पारदर्शी र सहभागीमुखी बनाउने लक्ष्यसहित चुनावी मैदानमा होमिएका छन्। उनको प्यानललाई हालका अध्यक्ष अनिल पोखरेलको समर्थन छ।
यस्तै उपाध्यक्षमा उम्मेदवारी दिएका बबिन करिब एक दशकदेखि अष्ट्रेलियामा रहेका नेपाली समुदायमा सक्रिय छन्। उनी अहिले एनआरएनए अष्ट्रेलियाको प्रवक्ता हुन्। उनी २०१९ मा एनआरएनए भिक्टोरियाका युवा संयोजक, २०२१ देखि २०२३ सम्म एनआरएनए अष्ट्रेलियाका राष्ट्रिय युवा संयोजकको जिम्मेवारीमा रहेका थिए।
समावेशी नेतृत्व र व्यावहारिक उपलब्धिका लागि आफ्नो प्यानल नै सक्षम रहेको उनले बताए। उनी भन्छन्,’एनआरएनए क्रियाशीलता, सशक्तीकरण र पुस्तान्तर प्रगतिका लागि सक्रिय मञ्च हुनुपर्छ।’
कुँवरको प्यानलबाट एनआरएनए महासचिवमा उम्मेदवारी दिएका चूडामणि सापकोटा (ज्ञानु)ले आर्थिक सशक्तीकरण, युवाको सहभागिता, बहुसांस्कृतिक पहिचान र नीतिगत पैरवीमार्फत दीर्घकालीन प्रभाव सिर्जना गर्ने प्रतिबद्धताका साथ यो प्यानल अगाडि बढेको बताएका छन्। समुदाय परिचालन, संस्थागत शासन र समावेशी नेतृत्वको आफ्नो अनुभवलाई महासचिवको भूमिकामा उपयोग गर्ने दृढ विश्वासका साथ अगाडि बढेको उनकाे भनाइ छ।
साथै अध्यक्षका उम्मेदवार कुँवरले अगाडि बढाएका डायस्पोरा लगानी परिचालन, एनआरएनए फाउन्डेसनमार्फत सामाजिक सेवाका अभियान, दोस्रो पुस्ताको सक्रिय सहभागिताका लागि संरचना निर्माण, नीतिगत संवाद र बहुसांस्कृतिक पहिचान प्रवर्द्धन जस्ता महत्वपूर्ण योजनाहरूलाई अगाडि बढाउने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।
संघको सचिव पदका उम्मेदवार कल्याण खड्का अधिवक्ता समेत हुन्। उनले विभिन्न किसिमका कानूनी परामर्शदाताका रूपमा समेत सक्रिय छन्। उनले सन् २०१३-२०१४ मा ब्रिगेड फुटबल क्लब, सिड्नीको खेलाडी र सल्लाहकार समितिका सदस्यको रूपमा काम गरेका थिए।
सिड्नी नेपालीज फुटबल क्लबका संस्थापक समेत रहेका खड्काले साहारा अष्ट्रेलिया क्लबमा रहेर फुटबल प्रतियोगिता गराउँदै आएका छन्। यस्तै उनी २०१९–२०२१ मा अष्ट्रेलियन नेपालीज फुटबल एशोसिएसनको कोषाध्यक्ष रहेका उनी अहिले कार्यकारी सदस्य छन्।
यस्तै, संघको राष्ट्रिय युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका घिमिरेले यसअघि नेशनल यूथ फोरमको सचिव र स्पोर्ट्स कोअर्डिनेटर (क्विन्सल्याण्ड) को जिम्मेवारीमा रहिसकेका छन्। युवाको मानसिक स्वास्थ्यप्रति चेतना बढाउने, खेलकुद कार्यक्रम गर्ने लगायतका एजेण्डा राखेर उनले उम्मेदवारी घोषणा गरेका हुन्।
युवाहरूको आवाजलाई राष्ट्रिय मञ्चमा पुर्याउनका लागि देशव्यापी रुपमा युथ कन्क्लेवको आयोजना गर्ने लगायत उनको योजना छ।
संघको राष्ट्रिय महिला संयोजक पदमा उम्मेदवारी दिएकी रिज्नू अधिकारीले गैरआवासीय नेपाली समुदायभित्र विशेष गरी महिलाहरूको हक, सम्मान र सशक्तिकरणको पक्षमा निरन्तर आवाज उठाउँदै आएकी छन्।
अधिकारीले समावेशी नेतृत्वलाई अघि बढाउने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेकी हुन्। २०२३ देखि अहिलेसम्म दक्षिण अस्ट्रेलिया नारीनिकुञ्जमा महिला संयोजकको रूपमा जिम्मेवारी सम्हाल्दै आएकी छन् । यसअघि २०२१ देखि २०२३ सम्म उनी दक्षिण अस्ट्रेलिया राज्य नारीनिकुञ्जमा महिला सदस्य रहेकी थिइन्।
नयाँ पुस्ताका महिलालाई नेतृत्व र सशक्तिकरणमा जोड्ने, नयाँ आएका नेपाली महिलाहरूलाई मार्गदर्शन, सहयोग र नेटवर्किङ अवसर प्रदान गर्ने लगायतका एजेण्डा उनको छ।












