Kathmandu Press

स्वास्थ्यमन्त्री पौडेलको एक वर्ष : आधारभूत सुधारदेखि ऐतिहासिक अभियानसम्म

स्वास्थ्य बीमा प्रणालीमा व्यापक सुधार गरिँदै नवीकरण प्रक्रिया सरल बनाइएको, रिफरल प्रणाली परिमार्जन गरिएको तथा दीर्घ रोगीका लागि उपचार सीमा बढाइएको छ।
स्वास्थ्यमन्त्री पौडेलको एक वर्ष : आधारभूत सुधारदेखि ऐतिहासिक अभियानसम्म

काठमाडौं, साउन ५ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्नो एक वर्षे कार्यकालका अवसरमा उल्लेखनीय सुधार, नीतिगत निर्णय र सेवा विस्तारका उपलब्धिहरू सार्वजनिक गरेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले उपलब्धिहरु सार्वजनिक गरे।

नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पु‍र्याउने लक्ष्यअनुसार मन्त्री पौडेलको नेतृत्वमा ५, १० र १५ शैय्याका अस्पतालहरूको निर्माण र सञ्चालनमा तीव्रता दिइएको उनले बताए। उनले यसअन्तर्गत ११३ अस्पताल निर्माण सम्पन्न भइसकेको छ भने नयाँ आर्थिक वर्षमा थप २५० अस्पताल सम्पन्न गर्न ११ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिएको उल्लेख गरे।

फागुन महिनालाई ‘नसर्ने रोग परीक्षण महिना’ र श्रावणलाई ‘डेंगु सचेतना महिना’ को रूपमा मनाउने निर्णयसँगै नसर्ने रोग नियन्त्रण अभियान र समुदाय केन्द्रित लामखुट्टे नियन्त्रण कार्यक्रमको थालनी गरिएको समेत मन्त्री पौडेलले बताए।

Hardik ivf

१० देखि १४ वर्ष उमेर समूहका १४ लाख ६२ हजार किशोरीलाई एचपीभी खोप दिइएको छ, जसले पाठेघरको मुखको क्यान्सरबाट बचाउने विश्वास गरिएको छ । यो कार्यक्रमलाई आगामी वर्षदेखि नियमित खोप कार्यक्रमअन्तर्गत ल्याउने तयारी गरिएको छ।

क्यान्सर, मुटु रोग, जलन उपचार, निःसन्तान समस्या, र अंग प्रत्यारोपण सेवा संघीय राजधानीबाहिर विस्तार गरिएको छ । सातै प्रदेशमा जलन उपचार सेवा विस्तार हुँदैछ भने मधेश र गण्डकी प्रदेशमा मुटु उपचार सेवा सुरु भइसकेको छ।

सिकलसेल एनेमिया, हिमोफिलिया, र पक्षघात जस्ता रोगका बिरामीलाई आवश्यक जीवनरक्षक औषधिहरू निःशुल्क प्रदान गर्न थालिएको छ । साथै, स्वास्थ्य बीमा प्रणालीमा व्यापक सुधार गरिँदै नवीकरण प्रक्रिया सरल बनाइएको, रिफरल प्रणाली परिमार्जन गरिएको तथा दीर्घ रोगीका लागि उपचार सीमा बढाइएको छ।

वीर, पाटन, भरतपुर, कोशी, बीपी कोइराला लगायतका ठूला अस्पतालहरूमा विशिष्टीकृत सेवाहरू थप गरिएका छन्। सेवा प्रवाह सुधार गर्न दुई सिफ्ट ओपीडी सेवा, टोकन प्रणाली, अनलाइन टिकट, र अस्पताल फार्मेसीमा अनिवार्य औषधिको सुनिश्चितता गरिएको छ।

छात्रवृत्तिमा अध्ययन गरेका ७५१ जना विशेषज्ञ चिकित्सक तथा १६० जना समायोजित चिकित्सकलाई दक्षताका आधारमा अस्पतालहरूमा खटाइएको छ । यसले प्रदेश तथा स्थानीय तहका अस्पतालमा सेवा गुणस्तर सुधारमा योगदान दिएको मन्त्रालयले जनाएको छ।

सबै पालिकामा जनस्वास्थ्य अधिकारी खटाउने व्यवस्था गरिएको छ । नागरिक आरोग्य कार्यक्रम अन्तर्गत योग, ध्यान, स्वस्थ जीवनशैली कार्यक्रम विस्तार गरिँदैछ। साथै, बुढानिलकण्ठमा स्थापना गरिएको रााष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र सेवा प्रारम्भ भइसकेको छ।

मन्त्रालयले दर्जनौं निर्देशिका, कार्यविधि र विधेयकहरू तयार पारेको छ, जसमा औषधि तथा स्वास्थ्य सामग्री ऐन, एकीकृत अस्पताल सञ्चालन विधेयक, स्वास्थ्य सेवा ऐन लगायत उल्लेखनीय छन्। यी कानूनी संरचनाहरूले प्रणालीमा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ।

भारतसँग आयुर्वेद, औषधि र स्वास्थ्य क्षेत्रमा दुई समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । त्यस्तै, सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपालले गरेको कार्यको मूल्यांकन गर्दै विश्व स्वास्थ्य संगठनबाट विशेष पुरस्कार प्राप्त गरेको छ।

यसैगरी स्वास्थ्य संस्था र जनशक्तिको डिजिटल तथ्यांक संकलन, स्तन क्यान्सरको वंशाणुगत परीक्षण नेपालमै सुरु तथा हेल्लो स्वास्थ्य १११५ हटलाइन सेवा सुरु गरिएको समेत मन्त्रालयले जनाएको छ।
 

प्रकाशित मिति: १६:१६ बजे, सोमबार, साउन ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्