एसकी नेतृ झाँक्रीले १२ दिनसम्म पनि दिइनन् स्पष्टीकरण
गत असार २४ गतेको सचिवालय बैठकले झाँक्रीसँग ७ दिनको समय तोकेर स्पष्टीकरण सोधेको थियो। पार्टी महासचिव घनश्याम भुसालले झाँक्रीलाई ७ दिने स्पष्टीकरणपत्र काटेका हुन्।
काठमाडौं, साउन ५ : पार्टी अध्यक्ष माधवकुमार नेपालकाविरुद्ध नेतृ रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिलाई लिएर स्पष्टीकरणपत्र पठाएको १२ दिन वित्दा पनि नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले कुनै जवाफ दिएकी छैनन्।
गत असार २४ गतेको सचिवालय बैठकले झाँक्रीसँग ७ दिनको समय तोकेर स्पष्टीकरण सोधेको थियो। पार्टी महासचिव घनश्याम भुसालले झाँक्रीलाई ७ दिने स्पष्टीकरणपत्र काटेका हुन्।
झाँक्रीले असार १४ गते रुपन्देहीको मणिग्राममा आयोजित युवा संघको प्रदेश भेलालाई सम्बोधन गर्नेक्रममा पार्टीभित्रका विभिन्न व्यक्तिमाथि कानुनी र नैतिक प्रश्नहरू उठेको बताउदै ‘मरेको सिनो’ बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिएकी थिइन्।
उनले अध्यक्षकै विषयमा पनि कुरा उठेकाले त्यस्तो नेतृत्वलाई बोकेर हिँड्न नसकिने बताएकी थिइन् । झाँक्रीले ‘अर्ली महाधिवेशन’ को माग समेत गरेकी थिइन्।
यस बिषयमा झाँक्रीलाई स्पष्टीकरणपत्र काटिए पनि अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन्। झाँक्रीले भने आफ्नो भनाई सच्याउन वा स्पष्टीकरण दिन अस्विकार गर्दै कारबाही भोग्न तयार रहेको बताउँदै आएकी छन्।
नेकपा एसको सचिवालय बैठकले कारबाही गर्ने वा नगर्ने बिषयको टुंगो पनि लगाएको छैन।












