अराजकता र उश्रृंखलतालाई नियमन गर्न मिडिया काउन्सिल विधेयक : मन्त्री गुरुङ
उनले मिडिया क्षेत्रको अराजकतालाई नियमन गर्न र पत्रकारहरुको आचारसंहिता निर्माण गर्न विधेयक आएको भन्दै यसलाई कार्यान्वयनमा ल्याउन सके धेरै समस्याको समाधान हुने बताए।-(78)-1753009058.jpg)
काठमाडौं, साउन ४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया क्षेत्रमा भएको अराजकता, उश्रृंखलतालाई नियमन गर्न मिडिया काउन्सिल विधेयक महत्वपूर्ण रहेको बताएका छन्।
आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफलमा उनले मिडिया क्षेत्रको अराजकतालाई नियमन गर्न र पत्रकारहरुको आचारसंहिता निर्माण गर्न विधेयक आएको भन्दै यसलाई कार्यान्वयनमा ल्याउन सके धेरै समस्याको समाधान हुने बताए।
‘यो विधेयक आजपनि एकदमै धेरै जरुरी छ, किनभने यो क्षेत्रमा जुन खालको अराजकता, उश्रृंखलता र अस्तव्यस्तता देखिएको छ, त्यसलाई नियमन र स्वनियमन गर्नको लागि पत्रकारहरुको आचारसंहिता निर्माण गर्ने विधेयकको रुपमा विधेयक आएको छ,’ उनले भने, ‘त्यसकारण समितिबाट यसलाई छिटै छलफल गरेर फैसला गरेर कार्यान्वयनमा ल्याउन सक्यो भने धेरै समस्याको समाधान हुन्छ।’
यस्तै, उनले प्रेस काउन्सिल विधेयक २०४८ ले आजको चुनौती र समस्याहरुको समाधान गर्न नसक्ने भएको हुनाले बोर्डकास्टिङ, प्रिन्टिङ र अनलाइन तीन वटै मिडियालाई व्यवस्थापन गर्नको लागि मिडिया काउन्सिल विधेयक अगाडि सारेको बताए।
‘प्रेस काउन्सिल विधेयक हुँदाहुँदै मिडिया काउन्सिल विधेयक किन ल्याउनु पर्यो भन्ने कुरामा जुन बेला प्रेस काउन्सिल विधेयक २०४८ बनाउँदै थियौं, त्यो बेला अनलाइन मिडियाको प्रवेश नै भएको थिएन्,’ उनले भने, ‘त्यसकारण बोर्डकास्टिङ र प्रिन्टिङ् मिडियाको मात्र समस्याहरु हेर्ने र त्यसको व्यवस्थापन गर्नको लागि बनेको प्रेस काउन्सिल विधेयकले चुनौती र समस्याहरुको समाधान गर्न नसक्ने भएको हुनाले र नयाँ संरचना पनि चाहिने भएकाले बोर्डकास्टिङ, प्रिन्टिङ र अनलाइन तीनवटै मिडियालाई व्यवस्थापन गर्नको लागि मिडिया काउन्सिल विधेयक अगाडि सारेका हौं।’
छलफल पश्चात केही संशोधनसहित राष्ट्रिय सभाबाट विधेयक पास भएको भन्दै स्वनियमन प्रवद्र्धन गर्नको लागि ऐन आवश्यक रहेको पनि उनको भनाइ छ।
उनले प्रस्तावित कानूनमा काउन्सिलको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धी, पत्रकार आचारसंहिता, आचारसंहिताको पालना, अनुगमन तथा कारबाही सम्बन्धी व्यवस्था पनि गरेको पनि बताए।












