प्रशिक्षक डे वाइल्डले ४४ दिनमै छाडे राष्ट्रिय महिला फुटबल टिम
गत जेठ २२ गते मुख्य प्रशिक्षक नियुक्त भएका बेल्जियन प्रशिक्षक वाइल्डले अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको विवादपछि शनिबार पदबाट राजीनामा दिएका हुन्।
काठमाडौं, साउन ३ : मख्यु प्रशिक्षक प्याडिक डे वाइल्डले ४४ दिनमै नेपाली राष्ट्रिय महिला फुटबल टिम छाडेका छन्।
गत जेठ २२ गते मुख्य प्रशिक्षक नियुक्त भएका बेल्जियन प्रशिक्षक वाइल्डले अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको विवादपछि शनिबार पदबाट राजीनामा दिएका हुन्।
उज्वेकिस्तानमा भएको एसियन कप छनोट सकेर बेल्जियम फर्किएका वाइल्ड शनिबार इमेलमार्फत एन्फालाई राजीनामा पठाएका हुन्। तर, एन्फाले यसबारे आफ्नो आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन।
उज्वेकिस्तानमा २ साताअघि भएको एसियन कप छनोटको खेलका क्रममा वाइल्ड र टिमका अन्य अफिसियलहरूबीच कप्तान चयलन लगायतका विषयमा विवाद भएको थियो। अन्तिम खेलमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा नेपाल पराजित हुँदै एसियन कपमा पुग्न असफल भएको थियो।
छनोटको लाओसविरुद्धको खेलअघि कप्तान चयनका विषयमा प्रशिक्षक वाइल्ड र व्यवस्थापनबीच विवाद भएको थियो। व्यवस्थापनले सुरुमा रेनुका नगरकोटेलाई कप्तान बनाएको थियो। तर, वाइल्डले त्यसमा असहमति जनाउँदै सावित्रा भण्डारीलाई कप्तान बनाएका थिए।
प्रशिक्षक वाइल्डले कान्तिपुरसँग अन्तर्वार्ता दिँदै एन्फाको कमजोर व्यवस्थापन, खेलाडीमाथिको दबाबलगातका विषयमा बोलेका थिए। त्यसपछि एन्फा नेतृत्व उनीसँग चिढिएको थियो।
प्रतियोगितामा नेपाली टिमकी कप्तान तथा नियमियर गोलपिकर एन्जिला तुम्बाबपो सुब्बालाई बेन्चमै राख्ने उनको निर्णयमा विवादमा परेको थियो। तीनै खेलमा अञ्जना रानामगरले गोल्पोस्ट सम्हालेकी थिइन्।
टिम नेपाल फर्किएको केही समयपछि पत्रकार सम्मेलन गर्दै एन्फाले टिमको विवादाको सम्पूर्ण दोष प्रशिक्षक वाइल्डमाथि लगाएको थियो। सो पत्रकार सम्मेलनमा टिमका हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ, व्यवस्थापक विन्द्रा देवान र सहायक प्रशिक्षक राजेन्द्र तामाङलगायतले उनको व्यहारमाथि प्रश्न उठाएका थिए।
त्यसपछि एन्फाले इमेलमार्फत नै एकसाता भित्र जवाफ दिन भन्दै वाइल्डलाई स्पष्टीकरण सोधेको थियो।
ैएन्फा प्रवक्ता सुरेश साहले स्पष्टीकरणको जवाफ आएको आफूले जानकारी भएको बताउँदै आधिकारिक रुपमा आइतबार मात्र थाहा हुने बताए। ‘प्रशिक्षकले राजीनामा दिनुभयो भनेर मैले पनि समाचारहरुमा पढेँ, महासचिवज्यू बाहिर भएकाले इमेल हेर्न पाएको छैन,’ प्रवक्ता साहले भने, ‘स्पष्टीकरणको जावाफ आएको छ, त्यसमै राजीनामा पनि आएको हुनसक्छ । भोलि आधिकारी जानकारी गराउँछौं।’
एक वर्षको सम्झौता गर्दै जेठ २२ गते मुख्य प्रशिक्षक बनेका वाइल्डको प्रशिक्षणमा नेपाली टिमले तीन खेल मात्रै खेल्न पायो। जसमा नेपालले २ खेल जितेको थियो भने एसियन कप छनोटको अन्तिम खेलमा उज्वेकिस्तानसँग पेनाल्टीमा पराजित भएको थियो।












