युद्ध र रगत बगाएर मात्र समाजवाद प्राप्त हुँदैन : वामदेव गौतम
‘युद्ध र रगत बगाएर मात्र कम्युनिष्ट पार्टीले सोचेको समाजवाद प्राप्त हुन्छ भन्नेमा म छैन। त्यही भएर नै हामीले नेपालको संविधानमा लोकतान्त्रिक, मूल्यमान्यतामा आधारित समाजवाद भनेका छौं।’
काठमाडौं, साउन २ : नेता वामदेव गौतमले युद्ध र रगत बगाएर मात्र कम्युनिष्ट पार्टीहरुले सोचेको जस्तो समाजवाद प्राप्त नहुने बताएका छन्।
शुक्रबार नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको एकता घोषणा सभामा बोल्दै उनले रगत बगाएर मात्र समाजवाद प्राप्त नहुने बताए।
‘युद्ध र रगत बगाएर मात्र कम्युनिष्ट पार्टीले सोचेको समाजवाद प्राप्त हुन्छ भन्नेमा म छैन। त्यही भएर नै हामीले नेपालको संविधानमा लोकतान्त्रिक, मूल्यमान्यतामा आधारित समाजवाद भनेका छौं,’ उनले भने, ‘हामी जाने त्यही बाटोमा हो र त्यही निर्माण गर्ने हो। त्यो नभएकाले सोभियत संघ असफल भयो र पूँजीवाद पुनःस्थापना भयो।’
उनले एकीकृत समाजवादीसँग एकता गर्दा खुशी लागेको भन्दै एकताको लागि चार वर्ष समय लागेको बताए।
‘म ज्यादै खुशी भएको छु, मैले धेरै कुरा व्यक्त गर्न सक्दिनँ। किनभने नेकपा एकीकृत समाजवादीमा एकीकृत हुनका निम्ति आजभन्दा चार वर्ष पहिलेदेखि यात्रा सुरु गरेँ। तर पूरा भएको थिएन्,’ उनले भने, ‘मेरो पार्टी अफिस स्यम्भूमा छ, त्यहाँबाट समाजवादीको पार्टीसम्म आइपुग्न चार वर्ष लाग्यो । आज मैले भने जसरी एकीकृत भएका छौं।’
सोही कार्यक्रममासम्मानित नेता झलनाथ खनालले देश अहिले चौतर्फी राजनीतिक संकटमा परेको औंल्याए । उनले अहिलेको सरकारले जनताको हितमा काम नगरेको बताए। उनले मन्त्रीहरु भष्ट्राचारका खाडलमा फस्दै गएकाले देश आर्थिक संकटमा परेको समेत बताए।












