तरुण दलको सक्रियता र परराष्ट्रको पहलमा यूएईमा अलपत्र कामदार नेपाल ल्याइए
उद्धार गरिएका कामदारमा मुगुका पूर्णबहादुर शाही, बर्दियाका विकास चौधरी, सतिस थारु, सिन्धुपाल्चोकका सौरभ माझी, कैलालीका विष्णुप्रसाद चौधरी, काठमाडौंका दिनेश तामाङ र रौतहटका अजित कस्वार छन्।
काठमाडौं, साउन २ : वैदेशिक रोजगारीका लागि यूएईमा पुगेर यातना खेपेका सात जना कामदारको उद्धार र पुनर्स्थापना गरिएको छ। कांग्रेसको भातृ संस्था नेपाल तरुण दलका पदाधिकारीको विशेष सक्रियता एवम् परराष्ट्र मन्त्रालयको पहलमा ति कामदारको उद्धार र पुनस्र्थापना संभव भएको हो।
उद्धार गरिएका कामदारमा मुगुका पूर्णबहादुर शाही, बर्दियाका विकास चौधरी, सतिस थारु, सिन्धुपाल्चोकका सौरभ माझी, कैलालीका विष्णुप्रसाद चौधरी, काठमाडौंका दिनेश तामाङ र रौतहटका अजित कस्वार छन्।
उनीहरु नेपालको गोर्खा मेनपावरसहित विभिन्न मेनपावर र युएईस्थित कम्पनी डार अल्बार्कू कन्ट्रयाक्ट्रिङ एलएलसी, अहमद अली नवाज टेक्निकल सर्भिस, अल राउण्ड विल्ङिङ क्लिनिङ सर्भिसेस् लगायत कम्पनीसँगको सम्झौता अनुरुप कामका लागि यूएई पुगेका थिए । नौ महिनाअघि दुबई पुगेका उनीहरुलाई त्यहाँ पुगेपछि कार्यरत कंम्पनीबाट चर्को शोषण र विभिन्नखालका यातना पाएको बताइएको छ।
कामदारलाई सम्झौतामा भनिए बमोजिमको काम, तलब, सुविधा नदिइएको, विरामी हुँदा उपचार समेत नगराइएको, कुटपिट र मानसिक यातना दिने गरेको भनाई पीडितले पठाएको भिडिओबाट सुनिन्छ।
यातना र श्रम शोषणका कारण असैह्य भएपछि पछिल्लो समय एक महिनादेखि सडकमा भोकभोकै बस्नुपर्ने बाध्यात्मक अवस्था आएको जनाउ दिँदै तरुण दलका केन्द्रीय सदस्य नन्दराज मल्ल (मुगु) ले परराष्ट्र मन्त्रालयमा असार ३० गते निवेदनसहित उद्धार र सहयोगका लागि निवेदनसहित आग्रह गरेका थिए।
‘चरम यातना सहेर अलपत्र परेको कामदारको उद्धारका लागि सहयोग, समन्वय र पहलका लागि मैले परराष्ट्र मन्त्रालयमा निवेदन दिएको थिएँ । यता, तरुण दलबाट केन्द्रिय अध्यक्ष विद्वान गुरुङ र सदस्य दिनेश लामाको सहयोग, समन्वयमा उद्धार गर्न समर्थ भएका छौं,’ केन्द्रीय सदस्य मल्लले भने।
मल्लले दिएको निवेदन अनुरुप परराष्ट्र मन्त्रालयबाट अबुधाबीस्थित नेपाली दूतावासलार्ई कार्यार्थ पठाइएको थियो। मन्त्रालयले श्रमिक कामदारको उद्धाराक लागि असार ३१ गते अबुधावीस्थित नेपाली दूतावासलाई पठाएको हो।
दुबईमा अलपत्र यी कामदारलाई उद्धारको लागि गरिएको आग्रह अनुरुप परराष्ट्र मन्त्रालयको पहलमा केही नेपाल फर्किसकेको र केहीलाई यूएईमै व्यवस्थापन गरिएको अवस्था छ,’ मल्लले काठमाडौं प्रेशसँग भने, ‘चारजना नेपाल फर्किसके । बाँकी नेपाली कामदार उद्धारपछि त्यहीँ व्यवस्थापन गरिएको छ।’












