एनआरएनए अष्ट्रेलियाको अध्यक्षका उम्मेदवार कुँवरको एजेन्डा सहभागीता, लगानी र पारदर्शिता
झन्डै एक दशकदेखि एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कुँवरले संस्थालाई लगानीमैत्री, पारदर्शी र सहभागीमुखी बनाउने लक्ष्यसहित ८ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन्।
काठमाडौं, साउन २ : गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी निर्वाचनलाई लक्षित गर्दै हाल महासचिव रहेका सन्तोष कुँवरले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
झन्डै एक दशकदेखि एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कुँवरले संस्थालाई लगानीमैत्री, पारदर्शी र सहभागीमुखी बनाउने लक्ष्यसहित ८ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन्। कुँवरले जुलाई २६ मा हुने निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्दै भने, “एनआरएनए अब केवल एक सांस्कृतिक संस्था होइन, डायस्पोरा र मातृभूमि दुवैको हितमा रणनीतिक साझेदारको भूमिकामा उभिनुपर्ने बेला आएको छ।”
कुँवरले प्रस्तुत गरेको कार्ययोजनामा डायस्पोराको क्षमतालाई संस्थागत ढंगले परिचालन गर्न एनआरएनए इन्भेष्टमेन्ट फोरम, व्यापार प्रतिनिधि र आर्थिक कूटनीतिको प्रवर्द्धन जस्ता महत्त्वपूर्ण पहलहरू समावेश छन्। उनले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रोत्साहन, लगानीमैत्री नीति सुधार र उद्यमशीलताको अभिवृद्धि जस्ता विषयमा एनआरएनएको सक्रिय भूमिका आवश्यक भएको बताए।
अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका नेपालीहरू राज्य वा संघीय सरकारबाट प्राप्त हुने अनुदान कार्यक्रमहरूमा पहुँच नपाएको गुनासो राख्दै आएका छन्। नेपाली समुदायले सञ्चालन गर्ने कार्यक्रमहरूमा स्रोत अभाव, दातृ निकायहरूसँग संवादको कमी, र नीतिगत जानकारीको अभाव हुँदा अवसर चुकिरहेको महसुस गरिएको छ।
यसका लागि कुँवरले अष्ट्रेलियास्थित संघीय तथा राज्य सरकारहरूबाट अनुदान भित्र्याउने र २ मिलियन डलरको स्रोत सुनिश्चित गर्ने योजना समेत सार्वजनिक गरेका छन्। साथसाथै स्थानीय संघसंस्था तथा गैरनाफामूलक संस्थासँग सहकार्य गर्दै अनुदान योग्य कार्यक्रमहरू पहिचान गर्ने कार्य पनि उनको प्राथमिकतामा पर्छ।
सामुदायिक कार्यक्रम र पारदर्शिता
सन् २०१७ देखि विभिन्न तहमा सक्रिय रहँदै आएका कुँवरले यसअघि नेपाल महोत्सव, खेलकुद कार्यक्रमहरू जस्ता सफल आयोजनाहरूलाई नमूना कार्यक्रमको रूपमा विस्तार गर्ने योजना पनि अघि सारेका छन्।
एनआरएनए अष्ट्रेलिया अन्तर्गत निर्माण हुने नेपाली बहुसांस्कृतिक केन्द्रलाई दातृ निकायहरूसँग साझेदारीमार्फत सम्पन्न गरिने योजना समेत उनले कार्ययोजनामा उल्लेख गरेका छन्।
उनले सबै च्यारिटी गतिविधि एनआरएनए फाउन्डेसनमार्फत सञ्चालन गर्ने, तथा कोष र खर्चका विवरणहरू सार्वजनिक दर्ता प्रणालीमार्फत पारदर्शी रूपमा राख्ने घोषणा गरेका छन्।
कुँवरले एनआरएनएको विधानमा दोस्रो पुस्ताका नेपाली मूलका युवाहरूको विंगलाई औपचारिक रूपमा समावेश गर्ने प्रतिबद्धता जनाएका छन्। उनले प्रत्येक राज्य र क्षेत्रीय तहमा दोस्रो पुस्ताको शाखा स्थापना गरी नयाँ पुस्तालाई संस्थासँग जोड्ने र नेतृत्व विकासमा योगदान पुर्याउने योजना प्रस्तुत गरेका छन्।
त्यस्तै, राष्ट्रिय कार्यकारिणी समितिसँग सहकार्यमा समर्पित समन्वयकहरू नियुक्त गरी कार्यक्रमहरूको प्रभावकारिता बढाइने उनको भनाइ छ।
व्यवसाय, उद्यमशीलता र शिक्षामा जोड
कुँवरले एनआरएनए व्यवसाय नेटवर्कमार्फत लगानी र द्विपक्षीय व्यापार प्रवर्द्धन गर्ने, शिक्षा, मेंटरशिप र समुदायिक सशक्तीकरण मार्फत नेपाली डायस्पोरालाई आत्मनिर्भर बनाउने विस्तृत योजना अघि सारेका छन्।
उनले लगानी शिखर सम्मेलन, स्टार्टअप मेंटरशिप कार्यक्रम, व्यापार इन्क्यूबेटर जस्ता पहलहरू सञ्चालन गर्ने बताउँदै नयाँ आप्रवासी, अन्तर्राष्ट्रिय विद्यार्थी र पेशागत करियर सुरु गरिरहेकाहरूका लागि संरचित मार्गदर्शन कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।
अध्यक्ष पदका उम्मेदवार कुँवरले अघिल्लो कार्यकालमा राज्य संयोजक ९२०१७–२०१९०, आईसीसी सदस्य ९२०१९–२०२१०, र ओसेनिया क्षेत्रीय उपसंयोजक ९२०२१–२०२३० को भूमिका निर्वाह गरिसकेका छन्।
एनआरएनए अष्ट्रेलियालाई संस्थागत रूपान्तरण, प्रविधिमैत्री संरचना, स्रोतको पहुँच र पारदर्शिताका आधारमा सुदृढ बनाउने अभियानमा आफू पूर्णतः समर्पित रहेको उनको दाबी छ।
उम्मेदवारी घोषणा गर्दै उनले भने, “एनआरएन नागरिकता, मतदान अधिकार र कन्सुलर सेवाहरूको व्यवहारिक कार्यान्वयनको लागि वकालत गर्नु मेरो प्रमुख प्राथमिकता हुनेछ।”












