प्रेस काउन्सिलले महत्वपूर्ण भूमिका निभाउनुपर्नेमा जोड
बुधबार राजधानीमा सम्पन्न ‘डिजिटल मिडिया ब्यवस्थापन र पत्रकार आचार संहिता’ सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम सहभागी पत्रकारले पछिल्ला दिनहरुमा नेपाली पत्रकारिता क्षेत्रमा जवाफदेहिताको खाँचो औंल्याएका छन् ।-1752728995.jpg)
काठमाडौं, साउन १ : विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार महिलाले ब्यवसायिक र मर्यादित पत्रकारितामा जोड दिएका छन् ।
बुधबार राजधानीमा सम्पन्न ‘डिजिटल मिडिया ब्यवस्थापन र पत्रकार आचार संहिता’ सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम सहभागी पत्रकारले पछिल्ला दिनहरुमा नेपाली पत्रकारिता क्षेत्रमा जवाफदेहिताको खाँचो औंल्याएका छन् ।
प्रेस काउन्सील नेपालको आयोजना र क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को संयोजनमा सम्पन्न कार्यक्रममा सहभागी पत्रकार महिलाले हाल डिजिटल मिडियामा धेरै नै समस्या देखिएकाले स्वतन्त्र प्रेसको निगरानी र नियमनमा जिम्मेवार निकायको रुपमा रहेको प्रेस काउन्सीलले महत्वपूर्ण भूमिका निभाउनुपर्ने विषयमा चर्चा गरे ।
कार्यक्रममा प्रेस काउन्सीलका सदस्य सन्तराम बिडारीले पत्रकार आचार संहिताको विषयमा जानकारी दिँदै यसले पत्रकार र मिडियालाई नैतिक रुपमा बाँध्ने पनि बताए । प्रेस काउन्सीलका सदस्य नकुल अर्यालले पत्रकार महिलाको जिज्ञासा मेटाउँदै काउन्सील पत्रकारहरुको सहयोगी संस्था रहेको र यसले पत्रकारितालाई ब्यवसायिक र मर्यादित बनाउन सहजिकरण गर्ने बताए ।
-1752728996.jpg)
त्यसैगरी काउन्सीलको पूर्व सदस्य एवं डब्लुडब्लुजेकी सल्लाहकार शुभेच्छा बिन्दु तुलाधरले काउन्सीलले जारी गरेका महिलामैत्री सञ्चार निर्देशिका, अपांगतामैत्री सञ्चार निर्देशिका, जेष्ठ नागरिक मैत्री सञ्चार निर्देशिकालगायतको बिषयमा जानकारी दिइन् । उनले यी निर्देशिकाहरु नेपालको राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सन्धीसम्झौताहरुलाई बिस्तृत अध्ययन गर्नुका साथै सम्बन्धित सरोकारवालाको रायसुझाव संकलन गरी यी निर्देशिकाहरु तयार पारेको स्मरण गरिन् ।
काउन्सीलका प्रमुख अधिकृत झबिन्द्र भुषालले युट्युब ब्यवस्थापनमा काउन्सीलले काम गरिरहेको जानकारी गराए । कार्यक्रममा डब्लुडब्लुजेकी अध्यक्ष रामकला खड्काले हाल प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप बढ्दै जानु गम्भीर चिन्ताको विषय रहेको बताउँदै पत्रकारले आचार संहिताको पालना गर्दै मर्यादित, उत्तरदायी र ब्यवसायिक पत्रकारितालाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।
उनले कतिपय अवस्थामा काउन्सील स्वयंले पनि अनलाइन पोर्टलबाट समाचार हटाउन दबाब दिएको गुनासो पत्रकारबाट सुनिने गरेकोमा यस्तो प्रवृत्ति हटाएर स्वतन्त्र रुपमा काम गर्ने वाताबरण सिर्जनाका लागि काउन्सीलले आगामी दिनमा काम गर्नुपर्ने बताइन् ।












