‘नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने सम्भावनाहरु प्रसस्त छन्’
उनले नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने काम सबैको भएको भन्दै केही हुँदैन् भन्ने गलत भाष्यलाई सबैले गलत साबित गर्नुपर्ने बताए।
काठमाडौं, असार २८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एसईई सम्मान कार्यक्रममा बोल्दै उनले देशमा भएको अवसरलाई सदुपयोग नगरेर केही भएको छैन् भन्ने कुराको पछि दौडिने प्रवृत्ति बढेको भन्दै नेपालमा नै प्रशस्त सम्भावनाहरु रहेको बताए।
‘नेपालमा नै बसेर राम्रो शिक्षा प्रप्त गर्ने अवसर छ। यसको सदुपयोग गर्नुपर्छ। हामीसँग भएको अवसरलाई सदुपयोग गर्न जान्नु पर्छ,’ उनले भने, ‘भएको कुरा केही होइन र हुँदै नभएको कुराको पछि दौडिएर हामीले के पाउने? नेपालमा प्रसस्त सम्भावनाहरु छन्।’
यस्तै, उनले नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने काम सबैको भएको भन्दै केही हुँदैन् भन्ने गलत भाष्यलाई सबैले गलत साबित गर्नुपर्ने बताए।
‘अहिले नेपालमा केही हुँदैन्, भन्ने भ्रम फैलाउने दुस्प्रयास भइरहेको छ। तर तपाई हामीले हो नेपाल बनाउने, नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने, सुरुमै निराश भएर केही हुँदैन् भन्ने गलत भाष्य निर्माण भइरहेको छ। यसलाई पनि सबैले गलत साबित गर्नुपर्छ,’ उनले भने।
मन्त्री सिंहले सबै विद्यार्थीहरुलाई मेहेनतका साथ अगाडि बढ्न पनि आग्रह गरेका छन्।