सन्दीपको सम्मानमा क्रिकेट रंगशाला बनाउँदै अर्चुनचौपारी गाउँपालिका
निर्माणाधीन मैदानको नाम ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिए अध्यक्ष तिवारीले बताए। मैदान बीच भागबाट चारैतिर ४५ मिटर वृत्ताकारमा फैलिएको छ।
स्याङ्जा, असार २८ : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा स्टार क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रंगशाला निर्माण सुरू भएको छ। अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा जन्मिएका सन्दीपको सम्मानमा सोही वडाको थाप्लेमा गाउँपालिकाले रंगशाला निर्माण सुरू गरेको हो।
गाउँपालिकाको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रंगशाला निर्माण सुरू भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए। डाँडाको टुप्पो तर समथर रहेको सार्वजनिक गौचरनमा क्रिकेट रंगशालामा निर्माण थालिएको उनले बताए।
‘चालु आवदेखि गाउँपालिकाको लागत तथा स्थानीयहरूको जनश्रमदानमा रंगशाला बनाउन सुरू गरेका हौं,’ अध्यष तिवारीले भने, ‘अहिले मैदान बनाउने ठाउँलाई सम्याउने काम भएको छ।’ ु
बर्खा लागेकाले तत्काललाई काम रोकेको बताएँदै उनले वर्खा सकिएपश्चात् काम पुनः सुरु गरिने उल्लेख गरे।
निर्माणाधीन मैदानको नाम ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिए अध्यक्ष तिवारीले बताए। मैदान बीच भागबाट चारैतिर ४५ मिटर वृत्ताकारमा फैलिएको छ। राष्ट्रियस्तरको मैदानका लागि आवश्यक पर्ने मापदण्डलाई पूरा हुने गरी निर्माण भइरहेको उनले बताए।
मैदानमा पीच बनाउनका लागि क्रिकेटसँग सरोकार राख्ने जिल्ला, प्रदेश तथा केन्द्रीय नेतृत्वकर्ता, अनुभवीहरूको परामर्शमा काम भइरहेको उनले बताए।
अहिले देश तथा विदेशमा आफ्नो र देशको नामलाई परिचित गराउन सफल क्रिकेटर सन्दीपको जन्म यसै ठाउँमा भएकाले उनको सम्मान सँगसँगै नयाँ प्रतिभा उत्पादन गर्नका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष तिवारीको छ।
‘क्रिकेट मैदान निर्माणाधीनस्थलबाट झण्डै आधा घण्टाको दूरीमा दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे) रूपमा पहिचान बनाएको सिरुबारी गाउँ रहेको छ,’ अध्यक्ष तिवारीले भने, ‘यस क्षेत्रमा क्रिकेट र पर्यटनलाई सँगसँगै जोडेर अगाडि लैजान सकिने देखिएको छ।’
क्रिकेट मैदान निर्माण सम्पन्न भएसँगै यस ठाउँमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने तयारी छ। पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गइरहेको नयाँ नयाँ प्रतिभाको प्रतिभाको खोजी गर्दै प्रतिभा बाहिर ल्याउन सहयोग पुग्ने उनले बताए।