कम्पनी रजिष्ट्रारमा ‘सिस्टम डाउन’ गराएर घुस डिलबारे छानविन माग
कम्पनी रजिष्ट्रारमा ‘सिस्टम डाउन’ गराएर घुस डिल गर्दै चुक्ता पूँजीको ०.३ प्रतिशत बुझाएपछि मात्र दर्ता हुने गरेको समाचार यसअघि बाहिरिएको थियो।
काठमाडौं, असार २७ : कम्पनी रजिष्ट्रारमा सिस्टम डाउन गराएर घुस डिल भएको भन्दै शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदले प्रश्न उठाएका छन्।
नेकपा एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले कम्पनी रजिष्ट्रारको कार्यालयमा भएको घुस डिल प्रकरणबारे सरकारको ध्यानाकर्षण गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरे।
सांसद रिजालले सर्भर डाउनको बाहनामा अनलाइन सिस्टमलाई बन्द गराएर कम्पनी नवीकरण गर्दा र कम्पनी दर्ता गर्दा प्रतिशत तोकेर रकम असुल गर्ने गरिएका समाचार बाहिरिएको भन्दै छानविन गरी यथार्थ बाहिर ल्याउन माग गरे।
कम्पनी रजिष्ट्रारमा ‘सिस्टम डाउन’ गराएर घुस डिल गर्दै चुक्ता पूँजीको ०.३ प्रतिशत बुझाएपछि मात्र दर्ता हुने गरेको समाचार यसअघि बाहिरिएको थियो।
सर्भर डाउनको बाहनामा अनलाइन सिस्टमलाई बन्द गराएर कंपनी नवीकरण गर्दा र कम्पनी दर्ता गर्दा प्रतिशत तोकेर रकम असुल गर्ने विषय गम्भीर रहेको उनले बताए। रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा सुशासन आयोग गठन गरेको पनि रिजालले स्मरण गराए।
‘सिंहदरबारको एक किलोमिटर दुरीमा रहेको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयमा सर्भर डाउनको नाममा सरकारको सुशासन र सिस्टम डाउन भएको छ,’ सांसद रिजालले भने, ‘म तुरुन्त छानबिन र कारबाहीको लागि सम्माननीय अध्यक्षज्युमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु।’












