इटाली बीआरआईमा सहभागी हुने संभावना
काठमाडौं, फागुन २२ : युरोपेली राष्ट्र इटालीले चीनको विश्वव्यापी र वृहत पूर्वाधार पहल बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा सहभागी हुने संकेत गरेक....

काठमाडौं, फागुन २२ : युरोपेली राष्ट्र इटालीले चीनको विश्वव्यापी र वृहत पूर्वाधार पहल बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा सहभागी हुने संकेत गरेको छ ।
चिनियाँ राष्ट्रपति सी जिनफिङको महत्वाकांक्षी एजेन्डाको रुपमा रहेको बीआरमा सहभागि भए इटाली सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक हुनेछ ।
सीएनएनका अनुसार इटालीले आफ्नो कमजोर हुँदै गएको अर्थतन्त्र उकास्न केही हप्ताभित्रै चीनसँग बीआरआईमा हस्ताक्षर गर्न सक्ने केही रिपोर्टहरुले देखाएका छन् ।
बीआरआईमा सहभागी हुने सहमतिपत्रमा चीनसँग हस्ताक्षर गरे विश्वका ठुला ७ अर्थतन्त्रहरुको समूह (जी–सेभेन) मुलुकहरुबाट सहभागी हुने इटाली पहिलो मुलुक हुनेछ । जी–सेभेनका अन्य मुलुकहरु अमेरिका, जापान र बेलायतले भने बीआरआईमा सहभागी हुने इच्छा देखाएका छैनन् ।
इटालीको आर्थिक विकास मन्त्रालयका एक अधिकारीले मार्च अन्तिम साता हुने चिनियाँ राष्ट्रपतिको इटाली भ्रमणको अवसर पारेर बीआरआई सहमति पत्रमा हस्ताक्षर हुन सक्ने द फाइनान्सियल टाइम्स्लाई जनाएका छन् ।
यो संभावनाको बारेमा धेरै इटालियन सञ्चारमाध्यमहरुले पनि लेखेका छन् ।
सहमतीपत्रमा हस्ताक्षर भए इटालीमा उत्पादित सामानले विश्वको सबैभन्दा चाँडै बढ्दै गरेको चिनियाँ बजार पाउन सक्ने ति अधिकारीले जनाएका छन् ।
अमेरिका लगायत शक्तिशाली पश्चिमा राष्ट्रहरु चीनको बढ्दो अन्तर्राष्ट्रिय महत्वाकांक्षामाथि आशंका गर्दै प्रविधि उत्पादनको चिनियाँ कम्पनी हुवावेको विरोध गरिरहेका छन् । अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहँदा इटालीसँगको सहमतिका समाचार आएको छ ।
चिनियाँ राष्ट्रपति सि इटालीपछि फ्रान्स र अमेरिका पनि जानेछन् । उनले अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अमेरिका र चीनकाबीचमा करका बारेमा देखिएका मतभेदहरु समाधान गर्ने कोशिस गर्ने छन् ।
बीआरआई चीनलाई युरोप, अफ्रिका र एसियासँग जोड्ने ठुलो व्यापारिक र पूर्वाधार परियोजना हो । यसमा चिनियाँ लगानीमा स्थलमार्ग र जलमार्गलाई सजिलो हुने गरी नयाँ बन्दरगाह, रेलमार्ग र सडकमार्ग बनाइएका र बनाइने क्रममा छन् ।
चीनको छिमेकी आर्थिक शक्ति भारतले यो पहलमा सहभागी नहुने जनाएको भएपनि पाकिस्तान, मलेसिया लगायत दर्जनौं मुलुकले यसमा हस्ताक्षर गरेका छन् ।
बीआरआईका खासगरी अमेरिकी आलोचकहरुले यो पहल अन्तरगत बन्ने परियोजनाहरुले विकासोन्मुख मुलुकहरुलाई थोरै फाइदा दिने तर धान्नै नसक्ने ऋणको पासोमा पार्ने बताउँदै आएका छन् । बीआरआई चिनियाँ सैनिक र राजनीतिक शक्ति सम्प्रेषण गर्न समेत प्रयोग हुन सक्ने आशंका पनि उनीहरुको छ ।
बीआरआईमा सहभागी मलेसिया जस्ता मुलुकहरुले यसको उपादेयता माथि प्रश्न उठाइरहँदा यो पहलमा इटालीको सहभागिता बेइजिङका लागि खुशीकै विषय हुने बताइएको छ । युरोपमा हुवावेको प्रविधि प्रयोग गर्ने मोबाइल सेवा प्रदायकहरुलाई बन्द गर्ने विषयमा बहस भइरहँदा इटालीका बारेमा यस्तो समाचार आएको हो ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार आर्थिक मन्दीले अप्ठेरोमा परेको इटालीले गत अक्टोबरमा बीआरआईमा सहभागिता सहित चीनसँग गर्न सकिने अन्य आर्थिक सहकार्यहरुका बारेमा अध्ययन गर्न एउटा कार्यदल गठन गरेको थियो । (सीएनएनबाट)











