लेखा अधिकृत पौडेलले भ्रष्टाचारबाट ६ करोड २६ लाख ‘अकुत’ आर्जन गरेको अभियोग
शर्माले अख्तियारको अनुसन्धानबाट ६ करोड २६ लाख ९३ हजार एक सय २९ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको खुलेको छ।
काठमाडौं, असार २५ : अख्तियारले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन (अकुत) को अभियोगमा बुधबार मुद्दा दायर गरेको छ।
लेखा अधिकृत शर्माले ६ करोडभन्दा बढी भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। शर्माले अख्तियारको अनुसन्धानबाट ६ करोड २६ लाख ९३ हजार एक सय २९ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको खुलेको छ।
उक्त रकमको स्रोत पुष्टि नभएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजायको माग राखेर मुद्दा दायर गरिएको हो।
लेखा अधिकृत पौडेल २०५४ माघ ८ गते सेवा प्रवेश गरेका थिए। उक्त मितिदेखि ०८० कात्तिक १० गतेको अवधिमा आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान हुँदा ६ करोड भन्दा बढी गैरकानुनी सम्पत्ति भेटिएको हो।
शर्माले पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टचार गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।
शर्माले अवैधरुपमा आर्जित सम्पत्ति पत्नी हुमा कुमारीको नाममा राखे पनि सम्पत्ति विवरणमा नखुलाएको अख्तियारको अनुसन्धानबाट फेला परेको छ। अख्तियारले भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत र कैद सजायको माग गर्दै आरोप पत्र दायर गरेको हो।