सेनाका तत्कालिन उपरथी शाहीले सर्वोच्चमा दिएको रिट निवेदन लिए फिर्ता
शाहीको मागबमोजिम बुधबार सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले रिट निवेदन फिर्ता हुने आदेश दिएको छ । शाही आफुलाई जंगी अड्डाले कारवाही गरेपछि सर्वोच्च पुगेका थिए।
काठमाडौं, असार २४ : जंगी अड्डाबाट बर्खास्दगीमा परेका उपरथी प्रेम शाहीले सर्वोच्च अदालतमा दिएको रिट निवेदन फिर्ता लिएका छन्।
शाहीको मागबमोजिम बुधबार सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले रिट निवेदन फिर्ता हुने आदेश दिएको छ । शाही आफुलाई जंगी अड्डाले कारवाही गरेपछि सर्वोच्च पुगेका थिए।
अवकासको पत्र बुझिसके पनि रिटको अन्तिम टुंगो लाग्न बाँकी नै थियो । जंगी अड्डाले उमेर विवादमा कारवाही गरेको थियो । नागरिकता र प्रमाणपत्रमा दुईथरी जन्ममिति भेटिएपछि शाही कारवाहीमा परेका हुन्।
नागरिकतामा रहेको जन्म मितिको आधारमा शाहीलाई २०७९ पुस ४ गते जंगी अड्डाले अवकासको पत्र थमाएको थियो । त्यसपछि उनी निर्णयलाई कानुनी चुनौती दिँदै सर्वोच्च अदालत पुगेका हुन्।
सर्वोच्चले नागरिकतामा भएको उमेरका आधारमा सेवामा कायम राख्न अन्तरिम आदेश दिएपछि कार्यालय पुगेका उनी पक्राउ समेत परेका थिए । शाहीलाई आर्थिक अनियमितताको अर्को आरोप लगाएर छानबिन अगाडि बढाएको थियो।
२०७९ फागुन १८ गते उक्त मुद्दामा दोषी ठहर समेत गरिएको थियो । जंगी अड्डाले बर्खास्त गरे पनि शाहीले सैनिक नेतृत्व फेरिएर परिस्थितिमा बदलाव आइसकेकाले आफ्नै रिटको औचित्य र सान्दर्भिकतालाई मध्येनजर गरी सर्वोच्चमा दर्ता भएको विचाराधीन रिट निवेदन फिर्ता लिएका हुन्।