सर्वसाधारणलाई ८ अर्बको सेयर जारी गर्ने
काठमाडौं, फागुन २२ : बुधवारदेखि संचालनमा आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि ८ अर्ब रुपैयाँको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ ।....
काठमाडौं, फागुन २२ : बुधवारदेखि संचालनमा आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि ८ अर्ब रुपैयाँको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ ।
नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित खोलिएको इन्फ्रास्ट्रक्चर बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ रहेको छ । बुधवार अर्थमन्त्री डा. युवराज खतिवडाले औपचारिक रुपमा उद्घाटन गरेको बैंकले पूर्वाधार क्षेत्रमा लगानी गर्ने छ ।
बैंकको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले ठूला पूर्वाधारमा लगानी गर्न सक्ने बैंकको आवश्यकता रहेको भन्दै बैंकको संख्या मर्जरमा लगेर घटाउनु पर्ने बताए । ‘अहिले २८ बैंकले प्रतिस्पर्धा गरिरहेका छन्,' खतिवडाले भने, ‘तर बलिया ८-१० वटा बैंक भए पुग्छ ।’
उक्त बैंकमा नेपाल सरकारको दश प्रतिशत सेयरसहित निजी क्षेत्रबाट ९० प्रतिशत लगानी हुनेछ । नेपालकै सबैभन्दा ठूलो बैंकको रुपमा स्थापना भएको बैंकमा २० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ । कम्पनीले बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली रहेका छन् भने उप प्रमुख कार्यकारीमा भुपेन्द्र पाण्डे छन् ।
बजेटमा उल्लेख भएको पूर्वाधार विकास बैंकको अवधारणामा रहेर नेपाल राष्ट्र बैंकले २० अर्ब चुक्ता पुँजी पुर्याएर पुर्वाधार विकास बैंक खोल्न पाइने नीतिगत व्यवस्था गरेको थियो । बैंकमा सरकारसहित झन्डै तीन दर्जन उद्योगी तथा व्यवसायी, सरकारी उच्च प्रशासक र नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तिको संलग्नता छ ।
बैंकको अवधारणामा नेपालका व्यवसायिक घराना विशाल ग्रुप, लक्की ग्रुप, आईएमई लगायतका समूह आवद्ध भएका छन् । बैंकमा कर्मचारी संचय कोष, नागरिक लगानी कोषको समेत सेयर रहेको छ ।
२० अर्ब रुपैयाँ चुक्ता पूँजी सहित स्थापना भएको बैंकमा सरकारको १० प्रतिशतसहित ६० प्रतिशत अर्थात १२ अर्ब संस्थापक लगानी हुनेछ भने ४० प्रतिशत अर्थात ८ अर्बको सेयर सर्वसाधारणको हुनेछ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको मुख्य उद्येश्य पूर्वाधार विकाससम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह तथा सेयरमा लगानी गर्ने, पूर्वाधार विकाससम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकाससम्बन्धी परियोजनाहरु निर्माण तथा सञ्चालनको लागी आवश्यक मेसिन खरिदमा सहयोग गर्ने छ ।
उपकरण तथा औजारको खरिद, बिक्री वा आपूर्ति वा जडानसम्बन्धी कारोबारको लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने छ । बैंकको स्थापनासंगै नेपालको ठूला परियोजनामा लगानी गर्नका लागि पुँजी परिचालन हुने आशा व्यक्त गरिएको छ ।