ललिता निवास प्रकरणमा सर्वोच्चले माग्यो पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग जवाफ
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु नेपाल र डा.भट्टराईमाथि पनि छानविन कारबाही हुनुपर्ने मागदाबीसहित सर्वोच्चमा रिट दिएका थिए।
काठमाडौं, जेठ २३ : सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमिता प्रकरणमा छानविनको मागसहित दायर भएको एक रिटमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग कारणसहितको लिखित जवाफ मागेको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेयको विशेष इजलासले लिखित कारण माग गरेको हो। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु नेपाल र डा.भट्टराईमाथि पनि छानविन कारबाही हुनुपर्ने मागदाबीसहित सर्वोच्चमा रिट दिएका थिए।
यो रिटलाई सर्वोच्च अदालतको संयुक्त इजलासले यसअघि तीन सदस्यिय पूर्ण इजलासमा पठाएको थियो । सोही अनुरुप प्रधानन्यायाधीश राउतसहित तीनजना न्यायाधीश संलग्न विशेष इजलासमा सुनुवाई भएको हो।
सर्वोच्चले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई म्याद तामेल गरी लिखित जवाफ मगाउने आदेश दिएको छ। ललिता निवास अनियमितता प्रकरणमा नेपाल र भट्टराईको मन्त्रिपरिषदबाट निर्णय भएको भन्दै व्यक्तिगत रुपमा जिम्मेवार ठहर्याएर अनुसन्धान र कारबाहीका लागि रिट निवेदकले अख्तियारको नाममा परमादेश माग गरेका छन्।
सर्वोच्चको आदेश अनुरुप विपक्षीको जवाफ प्राप्त भएपछि यो मुद्दामा सुनुवाई अघि बढ्ने भएको छ ।











