प्रधानमन्त्री ओलीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्यपूर्तिमा थप गति दिन योगदान दिएको बताए।
काठमाडौं, असार २३ : प्रधानमन्त्री केपी ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तरराष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्यपूर्तिमा थप गति दिन योगदान दिएको बताए।
प्रधानमन्त्री ओलीले उक्त सम्मेलनपूर्व असार १४ गते प्रतिनिधिसभाको बैठकमा सम्मेलन र भ्रमणका कार्यसूचीबारे जानकारी गराएका थिए। सम्मेलनका लागि प्रधानमन्त्री ओली यही असार १४ गते त्यसतर्फ प्रस्थान गरी असार २० गते स्वदेश फर्किएका हुन्।
सम्मेलनमा प्रधानमन्त्री ओलीले अतिकम विकसित मुलुकका तर्फबाट अगुवाइ गर्दै सम्बोधनका क्रममा यी मुलुकको न्यायपूर्ण एवं आर्थिक सामाजिक विकासका पक्षमा वकालत गरेको जानकारी गराए। सेभिया प्रतिबद्धताको कार्यान्वयनबाट ती मुलुकले आफ्नो स्तरोन्नतिका लागि विश्वस्तरको साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुन लागेको अवगत गराए।
सम्मेलनका अवसरमा अति कम विकसित राष्ट्रहरुको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइलाइड वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई प्रधानमन्त्री ओलीले जानकारी दिए।
४० वटा अतिकम विकसित मुलुकहरु रहेकामा नेपालले उक्त सम्मेलनका अवसरमा ती मुलुकहरु सामु प्रभावकारी नेतृत्व गर्न सक्के झल्को दिएको उनले स्पष्ट गरे। नेपालले नागरिक समाजका लागि लोकतान्त्रिक र उदार व्यवस्था लिएको पनि प्रधानमन्त्री ओलीको भनाइ छ।











