सभामुखले बालाए कार्यव्यवस्था परामर्श समितिको बैठक
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने, सभामुख घिमिरेले संघीय निजामती सेवा विधेयको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन भएको औपचारिक जानकारी दिने लगायतको कार्यसूची छ।-(62)-1751867703.jpg)
काठमाडौं, असार २३ : सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
बिहान ११ बजे बस्ने उक्त बैठकले आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने छ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने, सभामुख घिमिरेले संघीय निजामती सेवा विधेयको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन भएको औपचारिक जानकारी दिने लगायतको कार्यसूची छ।
यसैगरी ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने, ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल हुने कार्यसूची छ।
यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने छन्।
आजकै बैठकमा महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदनसमेत पेस गर्ने तयारी समेत छ।











