०८४ को निर्वाचनका लागि पार्टी तयार नभएको नेता साउदको गुनासो
‘हेर्दा हेर्दै ०८४ पनि नजिक आइसकेको छ। तर कांग्रेस त्यसका लागि तयारी अवस्थामा छैन। गैरकांग्रेस मतहरूसँगको दूरी पनि बढिरहेको छ,’ उनले भने, ‘जुन हाम्रो मत घट्ने संकेत हो।’
काठमाडौं, असार २२ : कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले ०८४ सालमा हुने भनिएको निर्वाचनका लागि पार्टी तयार नभएको गुनासो राखेका छन्।
नेता साउदले केन्द्रीय कार्यसमिति बैठकमा उक्त गुनासो पोखेका हुन् । साउदले पार्टीको आधार तह कमजोर भएको बताए।
‘हेर्दा हेर्दै ०८४ पनि नजिक आइसकेको छ। तर कांग्रेस त्यसका लागि तयारी अवस्थामा छैन। गैरकांग्रेस मतहरूसँगको दूरी पनि बढिरहेको छ,’ उनले भने, ‘जुन हाम्रो मत घट्ने संकेत हो।’
उनले दुईतिहाइको हैसियत पाएको केपी शर्मा ओली नेतृत्वको सरकारले सात बुँदे सहमतिअनुसार संविधान संशोधनको प्रक्रियामा ढिलाइ गरेको भन्दै आलोचना समेत गरे। संगठन बलियो नबनेसम्म कांग्रेस सशक्त नबन्ने उनको भनाई थियो।
पार्टीलाई समयअनुकूल अपडेट गर्दै गुटबन्दी अन्त्य गर्न र संगठन मजबुत बनाउनेतर्फ तुरुन्त ध्यान दिन उनको सुझाव छ । यस्तै, नेता साउदले राजनीतिक दलहरूमा आक्रमण बढ्दै जाँदा संविधानमाथि नै आक्रमण गर्ने प्रयास भइरहेको पनि बताए।