ठेक्कामा मिलेमतो गरी ३१ लाख भ्रष्टाचार, गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित नौविरुद्ध मुद्दा
अख्तियारको अनुसन्धानबाट योजना अनुगमन समितिका पदाधिकारी तथा कर्मचारी, भुक्तानी कार्यमा संलग्न कर्मचारी र निर्माण व्यवसायीसमेतको मिलेमतोमा फिल्डमा हुँदै नभएको टाई बिमको कार्य भएको भन्दै नापी किताब तयार गरी भुक्तानी गरिएको तथ्य खुलेको छ।
काठमाडौं, असार २० : ठेक्कामा मिलिभगत गर्दै भ्रष्टाचार गरेको अभियोगमा धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवतीदेवी मण्डल र दुईजना तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौजनाविरुद्ध मुद्दा दर्ता भएको छ।
संघीय सरकारको अनुदानबाट योजना निर्माण गर्दा मिलेमतोमा रकम हिनामिना गरेको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार आव ०७७/७८ र ०७८/७९ मा संघीय सरकारले गाउँपालिकाका लागि विशेष अनुदान भनेर बजार नालाको शीर्षकमा ५० लाख र फोहोरमैला व्यवस्थापनमा विनियोजन गरेको ४२ लाख रुपैयाँमा रकम हिनामिना भएको हो। उक्त रकममध्ये ३१ लाख हिनामिना गरिएको दाबी अख्तियारको छ।
अख्तियारको अनुसन्धानबाट योजना अनुगमन समितिका पदाधिकारी तथा कर्मचारी, भुक्तानी कार्यमा संलग्न कर्मचारी र निर्माण व्यवसायीसमेतको मिलेमतोमा फिल्डमा हुँदै नभएको टाई बिमको कार्य भएको भन्दै नापी किताब तयार गरी भुक्तानी गरिएको तथ्य खुलेको छ।
साथै, स्थलगत नापजाँच गर्दा टाई बिम राखेको नदेखिएको, पहिलो र दोस्रो रनिङ बिलमा एउटै आइटमको परिमाणमा दोहोरोपना हुने गरी निर्माण व्यवसायीलाई भुक्तानी दिएको तथ्य समेत फेला परेको छ । गर्दैनगरेको कामसमेत गरेको झुट्टा कागजात सिर्जना गरेको अख्तियारको अरोपपत्रमा उल्लेख छ।
अभियोगपत्र अनुसार निर्माण कार्यमा कुल ३१ लाख ३४ हजार ७७८ रुपैयाँ भुक्तानी दिइएको थियो । यही रकमलाई बिगो कायम गर्दै अख्तियारले मुद्दा दायर गरेको छ।
अख्तियारले भ्रष्टाचार प्रकरणमा धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष सिंह, उपाध्यक्ष रामवतीदेवी मण्डल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय गौरीशंकर मण्डल र सावनकुमार चौधरी, गाउँपालिकाका सबइन्जिनियर छोटे मण्डल, तत्कालीन योजना शाखा प्रमुख नासु नरेशकुमार मण्डल, लेखापाल राधेश्याम राय र तत्कालीन सहलेखापाल विनोदकुमार मण्डललाई सजायका लागि प्रतिबादी कायम गरेको छ।
साथै, ठेकेदार कम्पनी एकता सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालि र त्यसका सञ्चालक इन्द्रेशकुमार सिंहलाई समेत प्रतिवादी कायम गरिएको ।
-(7)-1754027599.jpg)