५६ दिनपछि अभ्यासमा फर्किए बार्सिलोनाका खेलाडी
काठमाडौं, वैशाख २७ : स्पेनिस क्लब बार्सिलोनाका खेलाडीहरू ५६ दिनपछि अभ्यासमा फर्किएका छन्।
कोरोना भाइरसको त्रासकै बीच लिग सुरू गर्ने तयारी स्....
काठमाडौं, वैशाख २७ : स्पेनिस क्लब बार्सिलोनाका खेलाडीहरू ५६ दिनपछि अभ्यासमा फर्किएका छन्।
कोरोना भाइरसको त्रासकै बीच लिग सुरू गर्ने तयारी स्वरुप स्पेन सरकारले यसै साताबाट क्लबहरुलाई अभ्यासका लागि अनुमति दिएपछि बार्सिलोनाका खेलाडीहरू ५६ दिनपछि मैदान फर्किएका हुन्।
लिग सुरु गर्ने तयारी भएपछि बार्सिलोनाले शुक्रबारबाट अभ्यास थालेको हो। पहिलो दिनको अभ्यासमा कप्तान लियोनल मेसी, एन्टोनियो ग्रिजम्यान, लुइस सुआरेज, मार्क आन्द्रे, जेरार्ड पिकेलगायत खेलाडी सहभागी थिए।
मेसी लगायतका खेलाडीहरुले जोन गेम्पर ट्रेनिङ सेन्टरमा एक्लाएक्लै ट्रेनिङ गरेका थिए। स्पेनिस सरकारले अहिले क्लबहरुलाई व्यक्तिगत रुपमा ट्रेनिङ गर्न मात्र अनुमति दिएको छ।
अभ्यासपछि स्पेनिस पत्रिका मार्कासँग कुरा गर्दै मिडफिल्डर अर्टुरो भिडालले आफूहरु सामान्य अवस्थातर्फ गइरहेको बताएका छन्। उनले भनेका छन्, ‘हामीलाई आशा छ अवस्था यसरी अगाडि बढे चाँडै मैदानमा फर्कन सक्नेछौँ। हामी पनि मैदान फर्कन आतुर छौँ।’
बार्सिलोनासँगै सेभिया, भिल्लारियल, लेगानेसले पनि शुक्रबारबाटै अभ्यास सुरु गरेका छन्। यी सबै क्लबहरुले खेलाडी लगायत सम्पूर्ण स्टाफको कोरोना परीक्षणपछि अभ्यास सुरु गरेका हुन्।
यता, अर्को ला लिगा क्लब रियल मड्रिडले भने सोमबारबाट अभ्यास सुरु गर्ने तयारी गरेको छ। उसले अभ्यासका लागि खेलाडीसहित सम्पूर्ण स्टाफको कोरोना परीक्षण गराएको छ र रिपोर्टको प्रतीक्षा गरिरहेको छ। यदि सबैको रिपोर्ट नेगेटिभ आए सोमबारबाटै रियलले ट्रेनिङ सुरु गर्नेछ।
कोरोना भाइरसका कारण स्थगित भएको ला लिगा जुन २० बाट सुरु हुने तय भइसकेको छ। बाँकी रहेका लिगका खेल २६ जुलाईसम्म सक्ने ला लिगाको योजना छ।