Kathmandu Press

कृषिमा प्रत्यक्ष वैदेशिक लगानी गर्न परराष्ट्रमन्त्री डा.राणाको आग्रह

मन्त्री डा. राणाले अन्तर्राष्ट्रिय सहयोग एवं सहकार्यबाट कृषि क्षेत्रलाई नवप्रवर्तन, कृषिमा एआइको प्रयोग, खेती गर्न ड्रोन आदि प्रविधिको प्रयोग गरी कृषिमा आधुनिकीकरण र वैज्ञानिकीकरणका साथ आकर्षक बनाउन नेपाल सरकार लागिपरेको पनि बताइन्। 
कृषिमा प्रत्यक्ष वैदेशिक लगानी गर्न परराष्ट्रमन्त्री डा.राणाको आग्रह

काठमाडौं, असार १७ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गरेकी छन्। 

राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन, एफएओको रोममा जारी ४४औँ महासभाअन्तर्गत मंगलबार आयोजित कृषि तथा खाद्य प्रणालीसम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै आग्रह गरिएको मन्त्री राणाको सचिवालयले जनाएको छ। 

उनले कृषि क्षेत्रमा लगानी गरेर नेपालका मौलिक एवं विशिष्ठ उत्पादनहरुमार्फत् विश्व बजारबाट लाभ लिन आग्रह गरिन्। 

Hardik ivf

‘कृषिमा निजी क्षेत्रको संलग्नता बढाउने सरकारको नीति बमोजिम ठूला निजी कम्पनीहरूले कृषिमा लगानी गर्न थालेका पनि छन्। तर पनि ठूलो लगानी तथा कृषिमा आधुनिकीकरणको अभावमा पर्याप्त सम्भावनाका बाबजुत पनि नेपालले बृहत मात्रामा कृषि उपजहरु निर्यात गर्न सकिरहेको छैन । हामीलाई यस क्षेत्रमा ठूलो वैदेशिक लगानीको आवश्यकता छ,’ मन्त्री डा.राणाले भनिन्। 

मन्त्री डा. राणाले अन्तर्राष्ट्रिय सहयोग एवं सहकार्यबाट कृषि क्षेत्रलाई नवप्रवर्तन, कृषिमा एआइको प्रयोग, खेती गर्न ड्रोन आदि प्रविधिको प्रयोग गरी कृषिमा आधुनिकीकरण र वैज्ञानिकीकरणका साथ आकर्षक बनाउन नेपाल सरकार लागिपरेको पनि बताइन्। 

नेपालमा कृषि पेशा गर्ने व्यक्ति अर्थात् किसानलाई अहिले पनि हेय दृष्टिले हेर्ने गरिएकाले यस क्षेत्रको आधुनिकीकरण गरी समयानुकूल विकास गरेर निर्यातमुखी बनाउन नसकिएको पनि उनले बताइन्। 

नेपालको ८३ प्रतिशत भूभाग पहाड वा हिमाली क्षेत्र रहेको र जहाँ अधिकांश जमिन स–साना टुक्रामा अवस्थित रहेकोले पनि कृषि कार्य अत्यन्त कठिन रहेको भए पनि यसलाई लामो समयदेखि आत्मनिर्भर अर्थतन्त्र र गरिबीसँग जोडिएको समेत उनले बताइन्। 

नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो आयस्रोत बनेको विप्रेषणले नेपालको कुल गार्हस्थ उत्पादनमा करिब ३५ प्रतिशत योगदान रहेको र कृषिको योगदान दोस्रो स्थानमा अर्थात् करिब २३ प्रतिशन रहेको बताउँदै कृषि क्षेत्र अझै पनि करिब ८० प्रतिशत जनसंख्याको रोजगारीको माध्यम बनेको भनाई मन्त्री डा.राणाको थियो। 

पछिल्लो समय जलवायुजन्य दुष्प्रभावका कारण कृषि क्षेत्रमा नराम्रो प्रभाव पर्दै गएको र नेपालका लागि यो गम्भीर चिन्ताको विषय भएको समेत उनले बताइन्। गाउँगाउँमा युवा र पुरुष वर्गको अनुपस्थितिका कारण खेतीमा जंगली जनावरहरुको आक्रमण बढ्दा किसानहरु मर्कामा परेको र मानव वन्यजन्तुबीच द्वन्द्व पनि बढेको चर्चा समेत उनले गरिन्। 

मन्त्री डा. राणाले कृषिलाई शिक्षा, पोषण र स्वास्थ्यसँग समन्वय गरेर अघि बढाउने प्रयास सफल भइरहेको पनि स्पष्ट पारिन्। 

प्रकाशित मिति: १८:२८ बजे, मंगलबार, असार १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्