कुलिङ पिरियड गडबडीमा छानविन गर्न माओवादीको माग
‘समितिले पास गरेकोभन्दा बाहिर गएर गरिएको भन्नेमा सबै सदस्यहरूको एउटै धारणा छ,’ उनले भने, ‘सभापतिले पनि मलाई थाहा नभएको कुरा हो भन्नुभएको छ। सचिवले स्वाभाविक रूपमा लेखेको भन्नुभएको छ तर यस्ता कुराहरू स्वाभाविक हुँदैनन्।’
काठमाडौं, असार १७ : संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडमा भएको गडबडीमा माओवादीले छानविनको माग गरेको छ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद भवनमा कुराकानी गर्दै कुलिङ पिरियडको व्यवस्थाबारे भएको चलखेललाई गम्भीर अपराध भएको बताउँदै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे।
राज्य व्यवस्था समितिले पारित गरेकोभन्दा फरक शब्दहरू ऐनमा राखिएको भन्दै यसमा नियतवश हेरफेर गरिएको उनले दाबी गरे।
‘समितिले पास गरेकोभन्दा बाहिर गएर गरिएको भन्नेमा सबै सदस्यहरूको एउटै धारणा छ,’ उनले भने, ‘सभापतिले पनि मलाई थाहा नभएको कुरा हो भन्नुभएको छ। सचिवले स्वाभाविक रूपमा लेखेको भन्नुभएको छ तर यस्ता कुराहरू स्वाभाविक हुँदैनन्।’
शर्माले यो कार्य संसदको सार्वभौम अधिकारमाथिको हस्तक्षेप भएको भन्दै कडा शब्दमा आलोचना गरे। उनले यसलाई षड्यन्त्र र बदमासी भएको बताउँदै यो अत्यन्तै निच र तुच्छ कार्य भएको पनि बताए।
‘यसको छानबिन हुनैपर्छ। सभापति, सचिव वा समिति—जसको गल्ती हो, उसले जिम्मेवारी लिनुपर्छ,’ उनले भने। उनले कानुनमै हेरफेर गरेर जनताको विश्वास गुमाउने काम भएको उल्लेख गर्दै व्यवस्थापिकाप्रति नै गम्भीर प्रश्न उठेको बताए।