दिलभूषण पाठकविरुद्ध साइबर अपराधमा मुद्दा
पत्रकार पाठकले असम्वन्धित व्यक्तिलाई हिल्टन होटलको लगानीसँग जोडेर मनगढन्ते, भ्रामक सामाग्रिमार्फत समाजमा घृणा र द्वेष फैलाएको दाबीसहित साइबर अपराधमा हदैसम्मको सजाय माग राखेर अभियोगपत्रमा गरिएको छ।
काठमाडौं, असार १६ : पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको अभियोगमा मुद्दा दायर भएको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले पत्रकार पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। उनीविरुद्ध युट्युबमार्फत् समाजमा घृणा र द्वेष फैलाएको अभियोग लगाइएको छ।
प्रहरीले साइबर अपराधमा आवश्यक अनुसन्धान सकाएर सोमबार विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्तागरेको छ। पत्रकार पाठकले असम्वन्धित व्यक्तिलाई हिल्टन होटलको लगानीसँग जोडेर मनगढन्ते, भ्रामक सामाग्रिमार्फत समाजमा घृणा र द्वेष फैलाएको दाबीसहित साइबर अपराधमा हदैसम्मको सजाय माग राखेर अभियोगपत्रमा गरिएको छ।
यसअघि प्रहरीले पाठकविरुद्ध पक्राउ पूर्जी नै जारी गरेर अनुसन्धान अघि बढाउन खोजे पनि उच्च अदालतले पाटनले पक्राउ गर्न रोकेपछि थुना बाहिरै राखेर बयान गराइएको थियो।
पाठकलाई पक्राउ नगरे पनि जेल सजाय, जरिबाना तोकेर क्षतिपूर्ति भराउन समेत माग गरिएको छ।