मन्थली नगरपालिकाले ल्यायो १ अर्ब ४ करोड ६५ लाखको बजेट
सोमबार नगर सभाको १७ औँ अधिवेशनमा नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले प्रस्तुत गरेको बजेटमा चालु तर्फ ६८.७५ प्रतिशत र पुँजीगत तर्फ ३१.२५ प्रतिशत बजेट विनियोजन गरिएको उल्लेख छ।-(41)-1750682657.jpg)
रामेछाप, असार ९ : रामेछापका मन्थली नगरपालिकाले आउने आर्थिक वर्षको लागि कूल १ अर्ब ४ करोड ६५ लाख ६४ हजार २०२ रुपैँयाको बजेट ल्याएको छ।
सोमबार नगर सभाको १७ औँ अधिवेशनमा नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले प्रस्तुत गरेको बजेटमा चालु तर्फ ६८.७५ प्रतिशत र पुँजीगत तर्फ ३१.२५ प्रतिशत बजेट विनियोजन गरिएको उल्लेख छ।
कूल बजेटमध्ये सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा २ प्रतिशत, कार्यालय सञ्चालनमा १४.५ प्रतिशत, आर्थिक विकासमा ४ प्रतिशत, सामाजिक विकासमा ४८.५ प्रतिशत र पूर्वाधार विकासमा ३१ प्रतिशत बजेट खर्च हुने भएको छ।
यस आर्थिक वर्षमा अनुमानित बजेटको ६७.९४ प्रतिशत खर्च भएको छ। वास्तविक निकासा आम्दानी भएको बजेटको भने ७८.३७ प्रतिशत बजेट खर्च भएको छ। यस आर्थिक वर्षमा कुल १ अर्ब करोड ९७ लाख ८१ हजार रुपैयाँ अनुमान गरिएको थियो।
मन्थली नगरपालिकाले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि, शिक्षा, उद्योग, पर्यटनलाई प्राथमिकतामा राखेको छ। उद्योग प्रवर्धनका लागि महिला तथा अपाङ्गता भ्याएकाको नाममा दर्ता भएका व्यवसायलाई ताकिएको व्यवसाय करमा १० प्रतिशत छुट दिने नगरपालिकाले कार्यक्रम ल्याएको छ।
नगरप्रमुख लब श्रेष्ठले पेस गरेको नीति तथा कार्यक्रममा न्यून पुँजी भएका व्यवसायीलाई दोहरो करको मारबाट छुट गराउन ५ लाख रुपैँयासम्म पुँजी कायम गरी उद्योग दर्ता गरेका व्यवसायीको उद्योग नवीकरण नगरपालिकाबाटै गरिने व्यवस्था मिलाइएको उल्लेख छ । सामाजिक विकास तर्फ दीर्घ रोगको औषधी खाई रकेका बिरामीलाई घरमा नै औषधी पु¥याउने व्यवस्था मिलाउने नीति नगरले लिएको छ।
दलित महिला, एकल महिला, ख वर्गका अपाङ्गता भएकाहरू, महिला स्वास्थ्य स्वयंसेवीका तथा ६० वर्ष माथिका दलित परिवारको स्वास्थ्य बिमाको पहिलो वर्षको रकममा ५० प्रतिशत अनुदान नगरपालिकाले दिने भएको छ।
छोरी जन्मलाई प्रोत्साहन गर्दै तेस्रो सन्तान जन्माउनेलाई सन्तति प्रोत्साहन कार्यक्रम थप गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए। मन्थली नगर अस्पताललाई अझ सुविधा सम्पन्न बनाउन बजेट विनियोजन गरिएको छ।
गुणस्तरीय शिक्षाका लागि विज्ञान विषय लिएर ११ र १२ पढ्ने प्रत्येक वडाका एक जना विद्यार्थीलाई निःशुल्क अध्ययन गराउन मन्थली माविलाई दिँदै आएको छात्रवृत्ति अनुदानलाई कायम गरिएको छ।
त्यस्तै कृषि र पशुविज्ञान अध्ययन गर्ने १४ वटै वडाका एक एक जना विद्यार्थीलाई रामेछाप पोलिटेक्निकमा छात्रवृत्ति अध्ययनको व्यवस्था मिलाइएको छ।
पूर्वाधार तर्फ वडाबाट प्रस्ताव भएको १५ लाख माथिको एउटा ठुला आयोजनामा नगरबाट १५ लाख रुपैँया थप गरी वडाको गौरवको योजना सञ्चालन गरिने भएको छ। पाँच वर्षमा सञ्चालन गरिने आयोजनाको आयोजना बैंक तयार गरी कार्यान्वयनमा लगिने भएको छ।
कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको उल्लेख छ । पुशपन्छिमा लगानी, मन्थली नगरपालिकाको सुनौलो बिहानी भन्ने नारासहित पशुपालन तथा दूध बिक्रीमा प्रोत्साहनको कार्यक्रम ल्याइएको छ ।
मन्थली नगरमा पर्यटन प्रवर्धनको लागि स्थानीय पर्यटन विकासका कार्यक्रमहरू ल्याइएको छ ।