भारतले विदेशमा रहेका १८ लाख नागरिक फिर्ता ल्याउने
काठमाडौं, वैशाख २६ : भारतले विदेशमा भएका आफ्ना नागरिक फिर्ता ल्याउने भएको छ।
कोरोनाका कारण घर फर्किन चाहने आफ्ना नागरिकलाई भारतले निजी....
काठमाडौं, वैशाख २६ : भारतले विदेशमा भएका आफ्ना नागरिक फिर्ता ल्याउने भएको छ।
कोरोनाका कारण घर फर्किन चाहने आफ्ना नागरिकलाई भारतले निजी विमान, सैन्य परिवहन विमान र नौसेनाको युद्धपोतमार्फत स्वदेश ल्याउने भएको हो। यो अभियानको पहिलो चरणमा करिब १८ लाख भारतीय नागरिकलाई स्वदेश फिर्ता ल्याउने तयारी छ।
उनीहरुलाई स्वदेश फिर्ता ल्याउन कम्तिमा दुई वटा ट्यांकसहित चार वटा भारतीय नौसेनाका जहाजको पनि प्रयोग गरिने छ। भारतीय वायुसेना र व्यापारिक उडानसमेत सञ्चालनमा ल्याउने भारतले जनाएको छ। विदेशबाट ल्याइने सबै नागरिकको कोरोना परीक्षण गरिने छ। कोरोना भाइरसको लक्षण नदेखिएकालाई मात्र तत्काल ल्याइने र भारत फिर्ता हुनेहरुलाई कम्तिमा १४ दिन क्वारेन्टाइनमा राखिने छ।
दुबईस्थित भारतीय महावाणिज्यदूतको तथ्यांक अनुसार युएईमा रहेका दुई लाख भारतीय नागरिकहरुले भारत फर्किन फारम भरिसकेका छन्। उनीहरुलाई लिने जल सेनाका पानी जहाजहरु त्यसतर्फ प्रस्थान गरिसकेका छन्। लण्डनको भारतीय उच्च आयोगले पनि भारतीय नागरिकलाई प्रथामिकताको सूची तयार गर्दै फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ। जस अनुसार पहिलो प्राथमिकता गर्भवती महिला, वृद्ध, चिकित्सक, आपतमा परेका र शोक वा गम्भीर बिरामी परेका परिवारलाई दिइने जनाएको छ।
भारतले कोरोनाका कारण इतिहासमै ठूलो संख्यामा विदेशमा रहेका आफ्ना नागरिक फिर्ता हुने जनाएको छ। सन् १९९० मा भारत र कुवेतबीच तिक्तता बढेपछि कुवेतबाट एक लाख ७० हजार भारतीय नागरिक फिर्ता गरिएको थियो। विश्वकै दोस्रो धेरै जनसंख्या रहेको देश भारतमा कोरोना भाइरसको संक्रमण फैलन नदिन गरेको बन्दाबन्दी ४० दिनपछि केही खुकुलो पारिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २५ मा भाइरसको फैलिन नदिन लकडाउन घोषणा गरेपछि लाखौंको संख्यामा भारत बाहिर रहेका भारतीयहरु उतै अड्किएका छन्।
लकडाउनका कारण खाडीदेखि युरोप र संयुक्त राज्य अमेरिका जस्ता देशमा रोकिएका नागरिक फिर्ता ल्याउन भारतले उक्त कदम चालेको हो। कोरोनाका कारण भारतमा मात्र ४६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने १६ सय बढीको मृत्यु भएको छ।