हिमालयन विकास परिषदमा नेपालको सर्वाङ्गीण विकासमाथि बहस
हिमालयन विकास परिषद् (हिमालयन डेभलपमेन्ट अफेयर्स काउन्सिल) ले भक्तपुरको दधिकोटस्थित काठमाडौं स्कुल अफ लमा बृहत् विमर्श कार्यक्रम राखेको हो।
काठमाडौं, असार २ : नेपालको सर्वाङ्गीण विकास खाकामाथि प्राज्ञिक व्यक्तित्व र विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित बुद्धिजिवीहरुले बृहत् छलफल गरेका छन्।
हिमालयन विकास परिषद् (हिमालयन डेभलपमेन्ट अफेयर्स काउन्सिल) ले भक्तपुरको दधिकोटस्थित काठमाडौं स्कुल अफ लमा बृहत् विमर्श कार्यक्रम राखेको हो।
उक्त छलफलमा प्राडा के. के. राईले नेपालको स्वास्थ्य अवस्था र सुधार गर्नु पर्ने बाटो, देश विकास र समृद्धिको आधार, प्राडा युवराज संग्रौला (विद्यावारिधि) ले व्यवसायिक एकीकृत शिक्षा सम्बन्धी कार्यक्रमको मार्गचित्र, अधिवक्ता रविन्द्र भट्टराईले मानवअधिकारको अवस्था, इन्जिनियर मोहन संग्रौलाले नेपालको विकासमा भौतिक पूर्वाधारको खाका सम्बन्धी कार्यपत्र तथा ‘पावर पोइन्ट’ प्रस्तुत गरेका थिए।
प्राडा. राईले ‘पावर पोइन्ट’ प्रस्तुतीकाक्रममा आफूले जाने–बुझेदेखि असारमा बजेट सक्ने विकासे हतारो देखेको र असारे विकासको त्यही प्रवृतिले दिगो विकास हुन नसकेको बताए। स्वास्थ्य महंगो भएकाले उपचार खर्चका कारण नेपालीहरु गरिबीको रेखामुनी झर्ने क्रम बढिरहेको उनको भनाइ थियो।
‘जटिल प्रकारको उपचार गर्दा घरबारी नै बेच्नु पर्ने अवस्था छ। उपचारकै कारण मानिसहरु गरिब बनिरहेका छन्’, डा.राईले लामो व्याख्या गर्दै भनेका थिए, ‘संविधानमा आधारभूत उपचार निःशुल्क र सर्वसुलभ हुने उल्लेख छ तर, त्यो संविधानका पानामा मात्र लेखिएको छ। व्यवहारमा सामान्य औषधि समेत निःशुल्क पाइन्न। संविधानमा लेखिएको कुरा व्यवहारमा लागू नहुनु निकै विडम्बनाको कुरा हो।’
कार्यक्रममा काठमाडौं स्कुल अफ ल का कार्यकारी निर्देशक प्राडा संग्रौलाले शिक्षा र दु्रत विकासको खाका सम्बन्धी अवधारणा पेश गरेका थिए । नेपाल र नेपालीमा तीव्र विकासको हुटहुटी रहेको तर शासन व्यवस्थामा बस्नेहरुले त्यसलाई सम्बोधन गर्न नसकेको प्रा. संग्रौलाको भनाइ थियो । शिक्षा मौलिक, व्यवहारिक र संस्कारी हुन नसकेकाले जागिरेहरु मात्र उत्पादन गरिरहेको, बच्चाहरु व्यवहारिक शिक्षाबाट टाढिदै गएकाले बाख्रा र कुकुर चिन्न नसक्ने अवस्थामा पुगिसकेको भन्दै संग्रौलाले आशा र समृद्धिको व्याख्या गरेका थिए।
‘पूर्वको उदयपुरदेखि सुदूरपश्चिमको साफेबगरसम्म मुख्य सहरहरु विस्तार गरी अरु सहायक सहर बनाउँदै नेपाललाई तीव्रतर गतिमा विकास गर्न सकिन्छ । सिंगापुर कोरिया, चीनले २०, ३० वर्षमा गरेको विकास नेपालले १० वर्षमै गर्न सक्छ’, प्रा.संग्रौलाको कथन थियो, ‘तर, त्यसका लागि भ्रष्टाचार नगर्ने, मुलुकलाई समृद्धिको मार्गमा डोहोर्याउने दृढ इच्छा शक्ति भएको देशभक्त शासक जरुरी छ ।’
शासकहरुमा दृढ इच्छा शक्ति नभएकैले मुलुक अविकसित अवस्थामा रहिरहेको संग्रौलाले बताए। अधिवक्ता रवीन्द्र भट्टराईले मानवअधिकारको अवस्था केलाउनेक्रममा शासकहरुले मानिसलाई महामानव, मानव र उपमानवमा विभाजित गर्दै आधारभुत मानवअधिकार समेत उल्लंघन गरिरहेको बताए ।
इन्जिनियर मोहन संग्रौलाले पूर्वाधार विकास, समृद्धिको खाका हचुवामा कोरिने गरेको सुनाए । पूर्वाधार विकासको हचुवा नीतिका उदाहरणहरु पेस गर्दै १६ औं पञ्चवर्षिय योजनासम्म ७० वर्ष खर्चदासमेत अपेक्षित विकास किन हुन सकेन भनेर कारणहरु खोज्न र विकासका खाकाहरु नै बदल्न विलम्ब भइसकेको बताए।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका अवधारणाकर्ता इन्जिनियर मोहन दंगाल, माहुरीविज्ञ शालिकराम न्यौपानेले कार्यपत्रहरुमाथि टिप्पणी गरेका थिए।
छलफलमा संविधानसभा सदस्य धर्मराज निरौला, विशेष अदालतका पूर्वअध्यक्ष प्रेमराज कार्की, नेपाल सरकारका पूर्वसचिव गोविन्द कुसुम (विद्यावारिधि), डा.मनोहरलाल श्रेष्ठ, प्रा.दुर्गा संग्रौला (विद्यावारिधि), वरिष्ठ पत्रकार तीर्थ कोइराला, प्रा.हङकङ रानालगायत एक सय ४० जना लब्धप्रतिष्ठितहरुको सहभागिता थियो। कार्यक्रमको दोस्रो खण्डमा नवप्रर्वतकहरुले आफ्नो सफलताको कथा सुनाए । सफलताको सिँढी चढ्दा उनीहरुले पाएको उतारचढाव सुनिरहुँ लाग्ने थियो ।
त्यसक्रममा सुनसरीको रामधुनी नगरपालिका वडा नं. ९ लाई नमूना वडा बनाइरहेका वडाध्यक्ष घनश्याम चौधरी, सिन्धुपाल्चोकको मेलम्चीदेखि नुवाकोटसम्म ट्राउड माछा पालन र बिक्री, वितरण गरिरहेका दीपक लामिछाने, सुनसरीको झुम्कामा थारु होमस्टे चलाइरहेकी सीता थरुनी, बालविकास र सिकाइमा सक्रिय योगदान गरिरहेकी मीना थकाली, किसान खाद्य उद्योग चलाईरहेका बसन्तकुमार पाण्डे, कौसी खेतीमा प्रेरणा जगाइरहेका झलक बन, विषादीरहित तरकारी खेती गरिरहेका हरिबोल न्यौपाने, विश्वकै ठूलो थाङ्का बनाएका सूर्यबहादुर थकालीले आ–आफ्नो कथाव्यथा सुनाएका थिए । कार्यक्रमको सञ्चालन सह–प्राध्यापक रामचन्द्र फुयालले गरेका थिए भने आफ्नो अनुभूतिसहित विमर्शको समापन अग्रज एवम् वरिष्ठ डा. मनोहरलाल श्रेष्ठले गरेका थिए ।
