Kathmandu Press

आजदेखि संसद्को बजेट अधिवेशन

काठमाडौं, वैशाख २६ : सङ्घीय संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । शुक्रबार अपराह्न ४ः०० बजे सङ्घीय संसद्को बैठक बस्दै छ । बजेट अधिवेशनका रुपमा सम....

आजदेखि संसद्को बजेट अधिवेशन

काठमाडौं, वैशाख २६ : सङ्घीय संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । शुक्रबार अपराह्न ४ः०० बजे सङ्घीय संसद्को बैठक बस्दै छ । बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । 

शुक्रबारको बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट सङ्घीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार शुक्रबारको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा मन्तव्य दिनेलगायतका कार्यसूची तय गरिएको छ ।

आगामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । आगामी जेठ १३ गते आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यतालिका छ । यसैगरी जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । राष्ट्रपतिले यही वैशाख २१ गते प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसद्को छैटौँ अधिवेशन आजका लागि आह्वान गरेकी थिईन् । 

कोरोनाको सक्रमण हुने त्रासलाई मध्यनजर गरेर सङ्घीय संसद् सचिवालयले सोही अनुसारको व्यवस्था गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले स्वास्थ्य सुरक्षाका लागि विभिन्न मापदण्ड तयार पारेको छ । विश्व स्वास्थ्य सङ्गठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छाडेर बस्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ । राष्ट्रियसभा बैठक कक्षमा अधिवेशन अवधिभर सांसद एउटै सिटमा बस्ने, प्रधानमन्त्री, मन्त्री तथा राष्ट्रियसभा दलको नेताबाहेक अन्य सदस्यले आम रुपमा रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्नुपर्ने छ ।

संसद् भवनमा प्रवेश गर्दा र फर्कदा फरक ढोकाको प्रयोग गर्ने, क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भीड नगर्ने तथा दूरी कायम गर्ने, संसद् भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाइमा विशेष ध्यान दिने, दर्शक दिर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने, सञ्चारकर्मीलाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुने गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ । स्वास्थ्य सेवा विभागको विज्ञ टोलीले रोग सङ्क्रमणको सम्भावित जोखिम रोकथाम गर्नेगरी संसद् भवनको स्थलगत अनुगमनपश्चात तयार पारेको सुझाव प्रतिवेदनका आधारमा उक्त आचारसंहिता तयार पारेको हो ।

अनुगमन टोलीले  बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनुपर्ने, मेडिकल मास्कको प्रयोग बैठक अवधिभर सबैले अनिवार्य रुपमा गर्नुपर्नेछ, बैठक समयमा भौतिक दूरीको पालना गरी तोकिएको कुर्सीमा मात्र बस्नुपर्ने, सकेसम्म समूहगत छलफलन नगर्ने, यदि गर्नै परेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपर्ने लगायतको सुझाव दिएको छ ।

यस्तै बैठक अवधिभर घरमा गई स्वयम् एकान्तवासको नियम सांसदहरुले अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । (रासस) 

प्रकाशित मिति: ०७:०३ बजे, शुक्रबार, वैशाख २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्