न्यायाधीशमाथि मोसो छ्याप्नेलाई हदैसम्मको कारबाही गर्न कर्मचारी संगठनको माग
पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिएको भन्दै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत न्यायाधीश थारुमाथि विहीबार कालोमोसो छ्यापिएको थियो।
काठमाडौं, जेठ ३० : उच्च अदालतका न्यायाधीश डा.खुशीप्रसाद थारुमाथि मोसो छ्यापिएको बिषयमा निजामती कर्मचारी संगठनले विरोध जनाउँदै दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेका छन्।
निजामती कर्मचारीसम्बद्ध ट्रेड युनियन ‘नेपाल निजामती कर्मचारी संगठन’ र ‘नेपाल निजामती कर्मचारी युनियन’ ले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्। कर्मचारी संगठनले मोसो छ्याप्ने कार्यमा संलग्नमाथि हदैसम्मको कारबाही गर्न माग गरेका छन्।
पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिएको भन्दै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत न्यायाधीश थारुमाथि विहीबार कालोमोसो छ्यापिएको थियो।
अदालतको च्याम्बरमै पुगेर नेकपा बहुमतका कार्यकर्ताले उनीमाथि मोसो छ्यापेका हुन् । कर्मचारी संगठनले न्यायाधीशले गरेको फैसला चित्त नबुझे माथिल्लो तहबाट परीक्षण हुने संवैधानिक एवम् कानूनी व्यवस्था हुँदाहुँदै कालोमोसोजस्तो अमर्यादित व्यवहार प्रदर्शन गर्नु दुर्भाग्यपूर्ण र अशोभनीय भएको बताएका छन्।
‘यस घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सो घटनामा संलग्न दोषीलाई कानूनको दायरामा ल्याई हदैसम्मको कारबाही गर्न जोडदार रुपमा माग गर्दछौं । साथै, आगामी दिनहरुमा यस्ता अवाञ्छित क्रियाकलापहरु नदोहोरिऊन भनी खबरदारी गर्दै भयरहित तवरले न्याय सम्पादन गर्न पाउने वातावरण सिर्जना गरिदिन सरोकारवाला सबैसँग हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
प्रहरीले मोसो छ्याप्ने तीन जनालाई पक्राउ गरी हिरासतमा लिएको छ।
