उदयपुर, नेपालगञ्ज र वीरगञ्जमा थप नमूना संकलन गर्ने तयारी
काठमाडाैं, वैशाख २५ : सरकारले कोरोना भाइरसका संक्रमित संख्याका आधारमा हटस्पटका रुपमा देखिएका उदयपुर, नेपालगञ्ज र वीरगञ्जमा थप नमूना सङ्कलनका लागि इपिड....

काठमाडाैं, वैशाख २५ : सरकारले कोरोना भाइरसका संक्रमित संख्याका आधारमा हटस्पटका रुपमा देखिएका उदयपुर, नेपालगञ्ज र वीरगञ्जमा थप नमूना सङ्कलनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेनासहितको टोली परिचालन गरेको छ।
कोरोनाको हटस्पटको रुपमा देखिएका क्षेत्र उदयपुरमा कम्तीमा ५००, वीरगञ्ज र नेपालगञ्ज कम्तीमा एक-एक हजार जनाको नमूना संकलन गर्ने गरी टोली खटाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
सरकारले हालसम्म १४ हजार ५०९ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) विधिबाट कोभिड–१९ को परिक्षण गरेको छ। र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट ५४ हजार ९३ नमूना परीक्षण गरेको छ। गत २४ घण्टामा थप एक हजार ४५१ वटा परीक्षण भएका छन्।
हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १७ हजार ३७२ रहेको छ। अहिलेसम्म आइसोलेशनमा १३३ जना रहेका छन्। तीमध्ये काठमाडौँ उपत्यकामा तीन छन् भने उपत्यका बाहिर १३० जना रहेका छन्। स्वमूल्याङ्नका लागि फारम भर्नेको सङ्ख्या ३३ हजार ५२२ पुगेको छ। जसमा रेड जोनमा हालसम्म ३३५ जना रहेका छन्।
हालसम्म कूल ९९ जना कोभिड–१९ बाट सङ्क्रमित रहेका छन्। जसमा ७१ पुरुष र २८ जना महिला रहेका छन्। सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए।











