नेदरल्यान्ड्समाथि नेपालको जित
मंगलबार नेपाललाई जित दिलाउन ब्याटिङमा आरिफ सेख र बलिङमा सन्दीप लामिछाने तथा डेब्यू खेलाडी नन्दन यादवले उत्कृष्ट प्रदर्शन गरे।
काठमाडाैं, जेठ २८ : आईसिसी विश्वकप लिग २ को स्कटल्यान्डमा भएको त्रिकोणात्मक सिरिज नेपालले जितसहित अन्त्य गरेको छ। मंगलबार डन्डीमा भएको सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्समाथि १६ रनको जित निकाल्यो।
यो सिरिजका ४ खेल मध्ये नेपालले ३ जित निकाल्यो। नेपालले नेदरल्यान्ड्समाथि २ जित निकाल्दा घरेलु टोली स्टकल्यान्डसँग १ जित निकाल्यो।
मंगलबार नेपाललाई जित दिलाउन ब्याटिङमा आरिफ सेख र बलिङमा सन्दीप लामिछाने तथा डेब्यू खेलाडी नन्दन यादवले उत्कृष्ट प्रदर्शन गरे।
नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४ बल बाँकी छँदा २२० रनमा अलआउट भयो। नेपालको ब्याटिङका क्रममा बासिर अहमदले २ पटक पिचमा टेकेपछि नेपालले १० रन पेनाल्टी पाएको थियो। सोही कारण नेदरल्यान्ड्सले इनिङको सुरुआत १० रन बाट गरेको थियो।
नेदरल्यान्ड्सका लागि वेस्ली बारेसीले सर्वाधिक ३६ रन बनाउँदा कप्तान स्कट इडवार्डसले ३०, माइकल लेविटले २७ र केयल केलइनले २५ रन बनाए।
नेदरल्यान्ड्सलाई रोक्ने क्रममा नेपाली बलरहरुले उत्कृष्ट बलिङ गरे। जसमा डेब्यू खेलाडी नन्दन यादवले ९ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए भने सन्दीप लामिछानेले १० ओभरमा ३९ रन नै खर्चेर ३ विकेट नै लिए।
यस्तै, निकै किफायति बलिङ गरेका ललित राजवंशीले १० ओभरमा २९ रन मात्रै खर्चेर २ विकेट लिँदा कुशल भुर्तेल र करण केसीले भने समान १ विकेट लिए।
त्यसअघि पहिला ब्यािटङ गरेको नेपालले मिडल अर्डरमा आरिफ सेखको अर्धशतक मद्दतमा ९ विकेटको क्षतिमा २३६ रन बनायो। करिअरकै सर्वाधिक रन बनाएका आरिफले ८५ बलमा ७ चौका र २ छक्का माद्दतमा ८४ रन बनाए। यस्तै, कप्तान रोहित पौडेल र भीम सार्कीले समान ३५ रन बनाए।
बलिङमा नेदरल्यान्ड्सका पाउल भान मिकेरेनले ४ विकेट लिए भने माइकल लेविटले ३ विकेट लिए।
३ जितपछि नेपालको १६ खेलमा १२ अंक भएको छ। तर, नेपाल अंक तालिकामा सातौं स्थानमै छ। नेदरल्यान्ड्स २६ अंकसहित दोस्रो स्थानमा छ भने स्कटल्यान्ड २४ अंकसहित तेस्रो स्थानमा छ। शीर्ष स्थानको अमेरिकाको २८ अंक छ।