Kathmandu Press

नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष अधिकारी र आचार्यविरुद्ध ‘घुस’ मुद्दा

विशेष अदालतमा दर्ता भएको अभियोगपत्रमा हिमाल तराई कन्स्ट्रक्सन प्रा.लि.को ऋण प्रक्रिया सहज गरिदिने नाममा घुस रकम मागेको अभियोग छ। 
नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष अधिकारी र आचार्यविरुद्ध ‘घुस’ मुद्दा

काठमाडौं, जेठ २६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा.चन्द्र बहादुर अधिकारी र रमेश आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विशेष अदालतमा दर्ता भएको अभियोगपत्रमा हिमाल तराई कन्स्ट्रक्सन प्रा.लि.को ऋण प्रक्रिया सहज गरिदिने नाममा घुस रकम मागेको अभियोग छ। 

अख्तियारको अनुसन्धानबाट हिमाल तराई कन्स्ट्रक्सन प्रालिले नेपाल बैंकबाट ६ करोड रुपैयाँ ऋण लिन कागजात पेश गरेपछि कम्पनीका प्रतिनिधि राजमान तामाङले आचार्यमार्फत अधिकारीसँग सम्पर्क गरेको र त्यसपश्चात अधिकारीले ऋण प्रक्रिया सहज गरिदिने आश्वासन दिँदै कुल ऋणको १ प्रतिशत अर्थात ६ लाख रुपैयाँ घुस मागेको खुल्न आएको अभियोगपत्रमा उल्लेख छ। 

अभियोगपत्र अनुसार अधिकारीले आफू र रमेश आचार्यलाई प्रयोग गरी फोन, एसएमएस र व्हाट्सएपमार्फत बारम्बार सम्पर्क गरेर घुस मागेका हुन्। माग गरिएको घुस रकममध्ये पाँच लाख रुपैयाँ बराबरको चेक राजमान तामाङले रमेश आचार्यमार्फत अधिकारीलाई पठाएको अनुसन्धानकाक्रममा भेटिएको छ। 

उक्त चेक २०८१ माघ २३ गते अधिकारीकै घरबाट बरामद गरिएको दाबीसहित अख्तियारले बैंक ऋण उपलब्ध गराउने प्रक्रिया सहज गरिदिने भन्दै घुस लिएको ठोस प्रमाण भेटिएको बताएको छ। 

अधिकारी र आचार्यलाई प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबी अदालत समक्ष गरेको छ। 

प्रकाशित मिति: २०:१६ बजे, सोमबार, जेठ २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्