एकदिवसीयकै उच्च स्कोर बनाए पनि नेपाल स्कटल्यान्डसँग २ रनले पराजित
आइतबार राति सकिएको खेलमा ३२४ रनको ठूलो लक्ष्य पछ्याएको नेपालले अन्तिम बलमा ३२१ रनमा अलआउट भयो।
काठमाडाैं, जेठ २६ : आईसिसी विश्वकप लिग २ को रोमाञ्चक खेलमा नेपाल २ रनले पराजित भएको छ। आइतबार राति सकिएको खेलमा ३२४ रनको ठूलो लक्ष्य पछ्याएको नेपालले अन्तिम बलमा ३२१ रनमा अलआउट भयो।
यो नेपालको एकदिवसीय क्रिकेटको सबैभन्दा ठूलो स्कोर हो। यसअघि नेपालको उच्च स्कोर ३१० रन थियो।
विशाल लक्ष्य लक्ष्य पछ्याएको नेपालाको सुरुआत राम्रो नभएपनि मध्यक्रमले राम्रो ब्याटिङ गरेपछि नेपाल जित नजिक पुगेको हो। नेपालका लागि सार्कीले सर्वाधिक ७३ रन बनाए। उनले ८५ बलमा ८ चौका प्रहार गरे। भीमले ३४(४को खराब अवस्थामा रहेको नेपाललाई आरिफ सेखसँग ९४ रनको साझेदारी गरेका थिए। आरिफले ३९ रन बनाए।
यस्तै, त्यसपछि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले सातौं विकेटका लागि शतकीय साझेदारी गर्दै नेपालको जितको आशा जगाएका थिए। सोमपालले ४४ बलमा ३ चौका र ४ छक्का मद्दतमा ६७ रन बनाए। यो उनको एकदिवसीय क्रिकेटको सर्वाधिक रन हो। यस्तै, दीपेन्द्रले ५१ बलमा २ चौका मात्रै प्रहार गर्दै ५६ रन बनाए।
बलिङमा स्कटल्यान्डका डेब्यू खेलाडी म्याकेन्जी जोन्सले ३ विकेट लिए भने सफ्यान सरिफ र माइकल लिस्कले समान २ विकेट लिए।
त्यसअघि डुन्डीमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ६ विकेटको क्षतिमा ३२३ रन बनायो। स्कटल्यान्डका लागि कप्तान रिचि बेरिङ्टनले शतक बनाए। उलने ११४ बलमा ६ चौका र ४ छक्का मद्दतमा १०२ रन बनाए।
यस्तै, माइकल लेस्कले विस्फोटक इनिङ खेल्दै नटआउट ९६ रन बनाए। उनले ६३ बलमा १२ चौका र ३ छक्का प्रहार गरे। उनले अन्तिम ओभरमा करण केसीलाई लागतार ३ छक्का हानेका थिए। चार्ली टेअरले ६५ बलमा ६८ रन बनाउँदा मार्क वाटले ९ बलमा २१ रन बनाए।
बलिङमा नेपालका करण केसी र दीपेनद्रसिंह ऐरीले समान २ विकेट लिँदा ललित राजवंशीले १ विकट लिए।