संसदमा विपक्षीलाई पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद्लाई अगाडि बढाउन प्रतिपक्षी सकारात्मक नभएको प्रतिक्रिया दिए। उनले आजबाट संसद चल्ने पनि बताए।
काठमाडौं, जेठ २५ : विपक्षी दलहरूले असहयोग गरे पनि संसद्को कारबाही अघि बढाउने तयारी सत्तारुढ दलहरुले गरेका छन्।
आइताबर संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले
प्रतिपक्षले असहयोग गरे पनि संसद्को कारबाही अगाडि बढाउने बताए।
संसद्को गतिरोध अन्त्य गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग गरेको छलफल बिनानिष्कर्ष टुंगिएको थियो।
कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद्लाई अगाडि बढाउन प्रतिपक्षी सकारात्मक नभएको प्रतिक्रिया दिए। उनले आजबाट संसद चल्ने पनि बताए।
‘आजबाट संसद् सञ्चालनमा आउँछ, विपक्षीबा कुनै पनि निष्कर्ष र निर्णय आएको छैन। संसद् सञ्चालन गर्न दिने कि नदिने भन्ने निष्कर्ष उहाँहरूले दिनु भएको छैन। उहाँहरुले सहयोग गरे राम्रैसँग सञ्चालनमा आउँछ,’ घिमिरेले भने, ‘यदि उहाँहरुले अप्ठ्यारो गरे पनि केही असहज होला तर संसद् अगाडि बढ्छ,’ घिमिरेले भने।
यस्तै, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले आजदेखि सहमतिको लागि सूचना टाँसेर बैठक स्थगित गर्ने पक्षमा आफूहरु नरहेको बताए। प्रतिपक्षीले अवरोध गरेपनि र नगरेपनि बैठक बजेटमाथिको छलफल सुरु हुने उनको भनाइ छ।
‘प्रमुख प्रतिपक्षी दहलहरूले सहमतिका लागि बैठक स्थगित गर्न अपिल गर्नुहुन्थ्यो, हामीले त्यो हामीले मान्दै आयौं। आजको बैठकमा चाहिँ हिजोको जस्तो सूचना टाँस गरेर स्थगित गर्ने हिजोको निरन्तरता हुँदैन । आजदेखिको बैठक हामी स्मुथली अगाडि बढाउन चाहन्छौं,’ उनले भने।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानविन हुनुपर्र्न र उनले राजीनामा दिनुपर्ने मागसहित विपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका छ। आज १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइए पनि दलहरुबीच सहमति नहुँदा बैठक अझै सुर हुन सकेको छैन।