६ लाख ७० हजार घुस खाएको आरोपमा इञ्जिनियरविरुद्ध मुद्दा
अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगले खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्न घुस मागेको आरोपसहित यादवविरुद्ध भ्रष्टाचार मुुद्दा दायर गरेको हो ।
काठमाडौं, जेठ २४ : सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवविरुद्ध घुस खाएको अभियोगमा भ्रष्टाचार मुुद्दा दर्ता भएको छ।
अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगले खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्न घुस मागेको आरोपसहित यादवविरुद्ध भ्रष्टाचार मुुद्दा दायर गरेको हो । यादवलाई पाँच लाख ७० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
अनुसन्धानकाक्रममा यादवले खोटाङमा निर्माणाधीन सडकको पाँचौ रनिङ्ग बिल स्वीकृत गरी भुक्तानी प्रक्रिया सम्बन्धी काम अघि बढाइदिए वापत सेवाग्राहीसँग शुरुमा १ लाख रुपैयाँ लिएको फेला परेको छ । त्यसपछि पुनः छैटौं रनिङ बिल भुक्तानीको लागि पाँच लाख ७० हजार रुपैयाँ लिएको दाबी अख्तियारको छ।
यादवले दुईपल्ट गरी ६ लाख ७० हजार रुपैयाँ घुस रकम लिएको दाबीसहित भ्रष्टाचार निवारण, ऐन २०५९ अनुरुप सजायको माग राखेर मुद्दा दर्ता गरिएको हो।
अख्तियारले इञ्जिनियर यादवबाट घुस बापतको विगो असुल गरी त्यति नै जरिवाना र घुसको मात्रा अनुसार जेल सजायको माग गरेको छ।